News Griha :: न्यूजगृह
लुम्बिनीमा जसपा नेपालले फिर्ता लियो सरकारलाई दिएको समर्थन

काठमाडौं— जनता समाजवादी पार्टी नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। पार्टी संसदीय दलकी प्रमुख सचेतक अम्बिका काफ्लेले आइतबार विज्ञप्ति जारी गर्दै आजका मिति देखि नै प्रतिपक्ष दलको भूमिकामा बस्ने निर्णय भएको जानकारी गराएकी हुन्।

यसअघि गत जेठ ५ गते बसेको पार्टीको लुम्बिनी प्रदेश समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। सोही अनुसार संविधानको धारा १८८ (२) बमोजिम जनता समाजवादी पार्टी, नेपाल लुम्बिनी प्रदेश सभा संसदीय दललाई समेत सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन पार्टीले दिइसकेको विज्ञप्तिमा उल्लेख छ।

पार्टीका सांसद अहिर र आदेश अग्रवालले भने अशोक राई नेतृत्वको जसपा रोजेका थिए। अहिर प्रदेश सरकारका कृषि मन्त्री छन्। यद्यपि उक्त दलबारे सर्वोच्चमा मुद्दा विचाराधीन छ। जसपा नेपालले समर्थन फिर्ता लिएपनि सरकार अल्पमतमा पर्दैन।

माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका जोखबहादुर महरालाई एमालेका २९, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्तिका ४ जसपाका २, एकीकृत समाजवादीका एक र एक जना स्वतन्त्र सांसद गरी ४७ जनाको समर्थन कायम छ। ८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सांसद भए पुग्छ।

प्रकाशित मिति: आइतबार, असार ९, २०८१  ०९:५७
Weather Update