News Griha :: न्यूजगृह
फेसबुकमा स्टाटस लेखेर गोविन्द भट्टराईले स्वीकारे हार

काठमाडौं— नेपाली कांग्रेसका नेता तथा तनहुँ–१ मा सत्ता गठबन्धनका साझा उम्मेदवार गोविन्द भट्टराईले सामाजिक सञ्जालमा स्टाटस लेखेर हार स्वीकार्दै मतदाताप्रति आभार व्यक्त गरेका छन् । 

मतगणना नसकिँदै भट्टराईले हार स्वीकार गरेका हुन् । भट्टराई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा.स्वर्णिम वाग्लेसँग १० हजार मत अन्तरले पछि परेका छन् ।

उनले फेसबुकमा लेखेका छन्,‘तपाईंप्रतिको विश्वास पूरा गर्न आफूलाई अब्बल प्रमाणित गर्न सकिनँ, यसले मलाई तपाईंको विश्वास योग्य बनाउन अझ प्रयास गर्नुपर्ने पृष्ठपोषण गरेको छ । तपाईंहरूको जनादेशलाई शिरोपर गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’

उनले ठूला आदर्शभन्दा नागरिकका व्यवहारिक समस्या समाधानलाई आदर्श मानेर बीपीको समाजवादबाट प्रेरित भएर चार दशक लामो राजनीतिक यात्राका क्रममा जनतासँगै रहेर काम गरेको बताएका छन् ।

‘ठूला आदर्शभन्दा तपाईंको व्यवहारिक समस्या समाधानलाई आदर्श मानेर बीपीको समाजवादबाट प्रेरित भएर चार दशक लामो यात्राका क्रममा तपाईंसँग रहेको हुँ । यसक्रममा पार्टीले मलाई विश्वास गरेर तनहुँ १ को उप निर्वाचनमा उम्मेदवार बनाउँदा तपाईंसँगको निकटताका आधारमा जुन आत्मविश्वासका साथ मैदानमा उत्रिएँ, मैले साथ पनि पाएँ,’ उनी भन्छन् ।  

प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  २०:२०
Weather Update