News Griha :: न्यूजगृह
पार्टीसँग ‘जादु’ नम्बर छ, सरकार पूरै अवधि टिक्छ : प्रचण्ड 

काठमाडौं— नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार संसद्को पूरा अवधिसम्म टिक्ने भएकाले कुनै दुबिधा नराख्न आग्रह गरेका छन्।

उनले पार्टीको इतिहास, आन्दोलनको योगदान, आवश्यकता र संसद्को अङ्कगणितका आधारमा समेत यही सरकारले पूर्ण कार्यकाल काम गर्ने बताए।

तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको सातौँ राष्ट्रिय महाधिवेशनको शनिबार उद्घाटन गर्दै उनले संसद्मा माओवादी केन्द्रको थोरै सङ्ख्या छ भनेर चिन्ता नगर्न र दुबिधा नलिन अनुरोध गरे। 

‘सरकार कति दिनको होला, चल्छ कि चल्दैन, केही दिनपछि सरकार जाँदैछ रे भनेर दुबिधा उत्पन्न गराउने कोसिस भएको देख्छु तर हामीलाई हटाउन सजिलो छैन, संसद्मा हाम्रो जादुवाला नम्बर छ, त्यो जादुले अनेक गरेर मिलाइहाल्छ,’ उनले भने। 

राजनीतिक दलहरूसँग भएका समझदारीको पूर्ण पालनप्रति आफूहरू जहिल्यै पनि इमानदार रहेको जनाउँदै उनले भ्रष्टाचारविरुद्ध, सामाजिक न्याय र समृद्धिका लागि काम गर्न आफू दत्तचित्त रहेको बताए।

माओवादी केन्द्रले नयाँ विचारका लागि महाधिवेशन तर्फ जाने तयारी गरिरहेको जानकारी दिँदै अध्यक्ष दाहालले केन्द्रीय समितिको आगामी बैठकबाट महाधिवेशनको मिति तोकिने बताए।

‘महाधिवेशनमा नयाँ विचार संश्लेषण गर्छौँ, नयाँ अभियान र विचारसहित पार्टीलाई अघि बढाउँछौँ । गणतन्त्रलाई सुदृढ गरी मुलुकलाई सुशासन र समृद्धिको नयाँ युगतिर लैजान महाधिवेशनले थप दिशानिर्देश गर्नेछ,’ उनले भने।  

प्रकाशित मिति: शनिबार, असार ८, २०८१  १८:४८
Weather Update