News Griha :: न्यूजगृह
केजरीवालको रिहाई फेरि अनिश्चित

काठमाडौं— भारतको दिल्ली उच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई दिएको जमानतमा लामो सुनुवाइपछि २/३ दिनका लागि आफ्नो निर्णय सुरक्षित राखेको छ ।

अदालतले यसअघि राउज एभिन्यू अदालतबाट अरविन्द केजरीवाललाई दिइएको जमानतमा रोक लगाएको थियो ।

यसका साथै केजरीवाललाई दिइएको जमानतमा रोक लगाउन दायर गरिएको ईडी याचिकामा उच्च अदालतको निर्णय नभएसम्म अरविन्द केजरीवाल जेलबाट रिहा नहुने भएका छन् ।

उच्च अदालतले मंगलबारसम्म ईडीको याचिकामा आफ्नो आदेश दिन सक्ने भारतीय मिडियाहरुले बताएका छन् ।

केजरीवाललाई मार्चमा कथित मदिरा नीति घोटाला प्रकरणमा प्रवर्तन निर्देशनालयले पक्राउ गरेको थियो ।

सर्वोच्च अदालतले केजरीवाललाई आम चुनावको प्रचारका लागि अन्तरिम जमानत दिएपछि उनी २१ दिन बाहिर बसेर २ जुनमा फेरि तिहाड जेल गएका थिए ।

उनलाई राउज एभिन्यू अदालतले शुक्रबार साँझ जमानतमा रिहा गर्ने आदेश दिएको थियो । सो आदेशको विरुद्ध ईडीले दिल्ली उच्च अदालतमा याचिका दायर गरेपछि उनको रिहाई अनिश्चित बनेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  २१:१२
Weather Update