
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताबाट आएका प्रश्नहरुको हल गर्र्ने गरी आगामी दिनमा त्यसको निर्मम समीक्षा गरेर अघि बढ्ने बताएका छन्।
शुक्रबार पार्टी कार्यालयमा पार्टी स्थापना दिवसका अवसरमा आयोजित चियापान कार्यक्रममा सञ्चारकर्मीहरुसँग बोल्दै सो कुरा बताएका हुन्।
उपप्रधान एवं गृहमन्त्री समेत रहेका लामिछानेले आफूहरु सरकारमा गएर पार्टी जनताको घरघरको समस्या समाधान गर्न तप्तर रहेको समेत दाबी गरे।
त्यस्तै जनताबाट सरकारमा गएर गल्ती गरेको भन्ने प्रश्न उठिरहेको बताउँदै आफूहरु मन्त्रालय छिरे पनि आफ्नो धरातल नभुलेको समेत बताए।
‘हामी मासमा नै विश्वास गर्छौँ। पार्टीलाई सानो संरचना बनाएका छौँ। सबै विषयलाई महाधिवेशनअघि नै स्पष्ट पार्नु छ। केही कुरा जलेश्वर बैठकले संकेत गरेको छ। भर्खरै महामन्त्रीले समीक्षा यात्रा गरेर आउनुभएको छ। निर्मम समीक्षा हुन्छ भन्नुभएको छ,’ उनले भने, ‘उहाँ आम नागरिकको प्रतिक्रिया सुनेर आउनुभएको छ। हामी मन्त्रालयमा छिरे पनि पार्टीको लेयर त घरघर गाउँमा छ हामीले जमिन त छाडेका छैनौँ। त्यहाँबाट आएका प्रतिक्रियाहरू निर्मम छन् भन्ने छ त्यसलाई समीक्षा गरेर अगाडि बढ्छौँ।’
आफ्नो पार्टीकै कारण गज्जबसँग सरकार चलाउने आधार बनेको समेत बताए। आफूहरुप्रति नागरिकको अपेक्षा ठूलो रहेको बताउँदै त्यसलाई ख्याल गरेर आफूहरु इमान्दारिताका साथ अघि बढ्ने समेत बताए।
‘२१ सीटले सदनमा हामी गज्जबको प्रतिपक्ष भएकै हौँ। सरकारमा एक सय दिन जति भएको छ। गज्जबले सरकार चलाउने आधार बनेका छन्। नागरिकको अपेक्षा ठूलो छ। त्यो पूरा गर्न ठूलो चुनौती छ। त्यसलाई ख्याल गरेर हामीले इमानदार कोसिस गर्छौँ,’ लामिछानेले भने।
आज रास्वपा स्थापनाको २ वर्ष पूरा भएर तेस्रो वर्षमा लागेको छ। रास्वपाको चियापानका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसहित मन्त्रीहरु र पार्टीका शीर्ष नेताहरु बनस्थलीस्थित रास्वपाको पार्र्टी कार्यालयमा पुगेका छन्।