News Griha :: न्यूजगृह
एसको महाधिवेशनः सुरक्षाको जिम्मेवारी तोकियो, बासको व्यवस्था आफैँ गर्नुपर्ने

काठमाडौं— नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आसन्न राष्ट्रिय महाधिवेशनस्थल तथा विशिष्ट व्यक्तिको सुरक्षा जिम्मेवारी राजनीतिक तथा सुरक्षा समन्वय कमिटीलाई दिएको छ।

सो कमिटीलाई महाधिवेशनस्थलमा आउने सबै प्रतिनिधि, शुभकामना दिन आउने विभिन्न पार्टीका नेता, पर्यवेक्षकलगायत विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापनको जिम्मेवारी तोकिएको पोलिटब्यूरो सदस्य दिलु पन्तले जानकारी दिइन्। 

पार्टी उपाध्यक्ष राजेन्द्र पाण्डेको नेतृत्वमा गठित १६ सदस्यीय कमिटीलाई पूर्णता दिइएको छ। कमिटीको सहसंयोजकमा जयन्ती राई, सचिवमा कृष्णराज पन्त छन्।

कमिटीको सदस्यमा जगन्नाथ खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, विरोध खतिवडा, भानुभक्त जोशी, अमरबहादुर थापा, उदयबहादुर बोहोरा, राजेन्द्रलक्ष्मी गैरे, शर्मिला पौडेल, विनोद मैनाली, वसन्त बस्नेत, हरिप्रसाद शर्मा र सविता अर्याल छन्।

त्यस्तै, महाधिवेशनमा आउने प्रतिनिधिहरुले बसोबासको प्रबन्ध आफैँ मिलाउनुपर्ने भएको छ। पाँच दिनसम्म चल्ने महाधिवेशनमा प्रतिनिधिहरुका लागि खानाको भने व्यवस्था गरिएको छ। 

बिहान र बेलुकाको खाना र दैनिक चिया र खाजा महाधिवेशनस्थलमै खुवाउने गरी क्याटरिङलाई जिम्मा दिएको पोलिटब्यूरो सदस्य पन्तले बताइन्। 
उनका अनुसार महाधिवेशनमा एक हजार ७ सय ७८ प्रतिनिधि सहभागी हुनेछन्। र, उनीहरुले बासको लागि सम्बन्धित जिल्ला कमिटीको सहकार्यमा आफैँ व्यवस्थापन गर्नुपर्ने छ।  

एकीकृत समाजवादीको १०औँ राष्ट्रिय महाधिवेशन आगामी असार १६ गतेदेखि २० गतेसम्म काठमाडौंमा हुँदैछ। 

प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  १६:०५
Weather Update