
काठमाडौं — एकीकृत अखिल नेपाल शिक्षक संगठन (युएण्टो) ले संघीय शिक्षा ऐन तत्काल जारी गर्न सरकारसँग माग गरेको छ । संगठनको केही दिनअघि सम्पन्न छैठौं महाधिवेशनले पारित गरेका निर्णयहरू जानकारी गराउन बिहीबार आयोजना गरिएको पत्रकार सम्मेलनमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासंघबीच २०७८ फागुन ९ गते सोमबार भएको ५१ बुँदे सम्झौता पूर्ण कार्यान्वयन गर्न माग गरिएको हो ।
संगठनले महाधिवेशनबाट पारित १९ बुँदे समसामयिक प्रस्ताव सार्वजनिक गरेको छ । महाधिवेशनले निजामती कर्मचारी र शिक्षकहरूको बीचमा रहेको तलबभत्ता, ग्रेड, पेन्सन, उपदान, निवृत्तिभरण र बढुवालगायतमा रहेको असमानतालाई हटाएर समानता कायम गर्न सरकारसँग माग गरेको छ ।
५१ बुँदे सम्झौतामा उल्लेख भएको प्रारम्भिक बालविकास शिक्षक (इसीडी) र विद्यालय कर्मचारीको दरबन्दी, तलब, सेवासुविधाको कार्यान्वयन गर्न सरकारसँग माग गरिएको छ ।
हेर्नुहोस् ५१ बुँदे सहमति