News Griha :: न्यूजगृह
गण्डकीमा बजेट बक्तव्यमा भएको त्रुटीबारे अर्थमन्त्रीले मागे माफी, बैठक सुचारु 

काठमाडौं— बजेटमा भएको त्रुटीबारे गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङले माफी मागेपछि प्रदेश सभा बैठक सुचारु भएको छ। 

आज बसेको प्रदेश सभा बैठकमा बजेट बक्तव्यमा भएको त्रुटी मानवीय कारणले भएको भन्दै माफी मागेपछि बैठक सुचारु भएको हो। 

बिहीबार बसेको बैठकमा प्रतिपक्षी दल नेकपा एमाले र माओवादी केन्द्रले बजेटमा बजेटको पूरा अङ्क र खर्च व्यहोर्ने स्रोतको शीर्षक नमिलेको भन्दै बैठक अवरुद्ध गरेको थियो। 

एमाले उपनेता लीलाबहादुर थापाले बजेटमा भएको त्रुटी सरकारले नसच्याए बैठक चल्न नदिने चेतावनी दिएका थिए। 

‘बजेट वक्तव्यको बुँदा १३८ को कूल व्ययको अनुमान र १३९ को कूल आयको अनुमानको स्रोतगत योगफलमा भिन्नता रहेको भनी औँल्याउनुभएको ब्यहोरा र सुझावप्रति कृतज्ञता व्यक्त गर्दछु। मनसायरहित रूपमा भएको मानवीय त्रुटिका लागि गल्ती स्वीकार गर्दै सो बुँदालाई थप स्पष्टताका साथ अद्यावधिक गरी सोको विवरण माननीय सदस्यहरूले प्राप्त गर्ने गरी पिजन होलमा उपलब्ध गरिएको ब्यहोरा अनुरोध छ,’ अर्थमन्त्री गुरुङले भनेका छन्। 

त्यस्तै सरकारले बजेट बक्तव्यको १३९ नं बुँदालाई थप स्पष्टताका साथ व्याख्या गर्दै संशोधन गरेको छ। 

संशोधित वक्तव्यमा भनिएको छ, ‘आगामी आर्थिक वर्ष २०८१–०८२ का लागि वित्तीय समानीकरण अनुदानतर्फ ७ अर्ब ६३ करोड ८८ लाख, राजश्व बाँडफाँटबाट ९ अर्ब ६१ करोड १२ लाख, रोयल्टी बाँडफाँटबाट ४८ करोड १० लाख, सशर्त अनुदानतर्फ ३ अर्ब ५९ करोड ९३ लाख, समपूरक अनुदानमा १ अर्ब १९ करोड र विशेष अनुदानमा ६५ करोड ५५ लाख प्राप्त हुने अनुमान गरिएको छ।’

प्रदेशका आर्थिक मामिलामन्त्री डा. गुरुङले आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ९७ करोड ८५ लाखको बजेट पेस गरेका थिए। तर उक्त बजेटको स्रोतमा भने ३२ अर्ब ४८ करोड ७६ लाख रुपैयाँको मात्र हिसाब उल्लेख गरेका थिए।

बजेट वक्तव्यमा उल्लिखित कार्यक्रम कार्यान्वयन गर्न ४९ करोड ९ लाख रुपैयाँको स्रोत अभाव हुने देखिएको भन्दै विपक्षी दलले बैठकमा अवरोध खडा गरेका हुन्। 

प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  १३:५०
Weather Update