News Griha :: न्यूजगृह
गृहमन्त्री लामिछानेविरुद्धको रिट न्यायाधीशद्वय मल्ल र सुवेदीको इजलासमा

काठमाडौं—  उपप्रधान तथा गृहमन्त्री  रवि लामिछानेलाई निलम्बन माग गर्दै दायर रिटको आज सुनुवाइका लागि पेसी तोकिएको छ । आज यो रिट न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारङ्गा सुवेदीको संयुक्त इजलासमा पेसी तोकिएको छ ।    

सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता देखिने गरी जाहेरी समेत परेको दाबी गर्दै अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिट सुनुवाइ कै क्रममा रहेको छ । यस अघि उक्त रिट यसअघि हेर्न नमिल्ने न्यायाधीशको पेसी पर्दै सरेको थियो ।

इजलासबाटै सुनुवाइको मिति तोकिएकाले आजका लागि पेसी तोकिएको थियो ।  

महान्यायाधिवक्ता कार्यालय गृहमन्त्री लामिछानेलाई क्लिनचिट देखिने गरी कुनै पनि जिल्लामा अनुसन्धान, अभियोगपत्र र जाहेरी नभएको भनी पत्र लेखेपछि अधिवक्ता भट्टराईले रिट दायर गरेका थिए । सुरुमा उक्त रिट दरपिठ भएको थियो । पछि न्यायाधीश टेकनारायण ढुङ्गानाको इजलासले दर्ता गर्न आदेश गरेपछि पुन दर्ता भएको थियो । 

रिटमाथि पहिलो सुनुवाइ गर्दै सर्वोच्चले पोखरादेखि रूपन्देही सम्म जाहेरी दर्ता तथा अभियोग पत्र सम्म मगाउने आदेश गरेको थियो । त्यस्तै सर्वोच्चमा पोखराको सूर्य दर्शन र बुटवलको सुप्रिम सहकारी ठगी बारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले गरेको अध्ययन प्रतिवेदन समेत पेस भइसकेको छ ।   

प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  १०:५६
Weather Update