
काठमाडौं— उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आगामी आर्थिक वर्षको बजेटमा पदको दुरुपयोग नभएको दाबी गरेका छन्।
मन्त्रीहरुले आफ्नो जिल्ला र निर्वाचन क्षेत्र केन्द्रीत बजेट पारेको भन्ने गुनासोपछि गृहमन्त्री लामिछानेले सरकारले बजेट आवश्यक्ता र प्राथमिकताका आधारमा दिएको बताएका हुन्।
बिहीबार संघीय संसद् भवन बाहिर पत्रकारहरुसँग कुरा गर्दै गृहमन्त्री लामिछानेले भने, ‘बजेट हामीले सकेजति, गर्नसके जति, गर्न परेको आवश्यकताअनुसार विभिन्न ठाउँमा आएको प्राथमिकताअनुसार भएको छ। पदको दुरुपयोग गरिएको छैन। पदको सदुपयोग गरिएको छ। आवश्यकताअनुसार सकेको गरिएको छ। बजेट पास गरिसकेपछि उहाँहरुसँग चितवन नै गएर अन्तरक्रिया गर्नेछु।’
बजेट प्रणालीमा समस्या समेत रहेका उनले बताए। साथै आफूले नागरिकको तहबाट आएको र माग अनुसार पनि त्यसलाई प्राथमिकीकरण गरेर बजेट विनियोजन गरेको बताए।
‘आवश्यकताअनुसार जसरी मलाई नागरिकहरुले भन्दै आउनुभएको थियो, मैले पनि यो आवश्यकता नै हो है भनेर प्राथमिकीकरण गरेर गरेको छु। नागरिकको आवश्यकताअनुसार बजेट विनियोजन गरेको छु । बजेट प्रणालीमै समस्या छ। जुन ढंगले बजेट बनाउँछौँ, छलफल गर्छौं त्यो प्रणालीमा नै समस्या छ। छलफल स्वभाविक छ,’ उनले भने।