
काठमाडौं— श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले मन्त्रीले गर्ने काममा राजनीति नगर्न सांसदहरुलाई आग्रह गरेका छन्।
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बिहीबारको बैठकमा उनले यस्तो आग्रह गरेका हुन्।
सांसदहरुले मन्त्रीले गर्ने काममा राजनीति गरेकै कारणले देश समृद्ध बन्न नसकेको उनको जिकिर थियो। विकासका कुरामा एकछिन राजनीति बिर्सिन सके मात्रै पनि देश समृद्ध बन्ने र नागरिकले सुख पाउने अर्यालको भनाइ थियो।
‘कुनै मन्त्रीले गर्ने काममा तपाईं हामीले राजनीति गरिदिनु भएन। विकासका कुराहरूमा राजनीति नगरी दिनुहोला। विकासका कुरामा पार्टीका कुरा हेरिदिनु भएन। त्यतिबेला हामीले पार्टी र राजनीति एकछिन बिर्सिने हो भने देश समृद्ध हुन्छ, नागरिकले सुख पाउँछन्,’ उनले भने।
कुनै एउटा मात्रै उद्योग चलाएर दशौँ हजारका लागि रोजगारी सिर्जना गर्न नसकिने बताउँदै यसका लागि साना व्यवसायदेखि सबै प्रकारका उद्योगहरु सञ्चालन गर्न आवश्यक रहेको उनले बताए। बैठकमा बोल्दै उनले रोजगारीका अवसर बढाउनका लागि सरकारले हरसम्भव प्रयास गरिरहेको दाबी गरे।
उनले भने, ‘हामीले कुनै एउटा उद्योग सञ्चालन गर्दैमा दशौँ हजारले रोजगारी पाउँदैनन्। तर, हामीले साना व्यवसायलाई संरक्षण गर्दै, साना, मझौला र ठुला उद्योगहरुलाई सञ्चालन गर्न सक्यौं भने मात्र धेरैभन्दा धेरैका लागि रोजगारी सिर्जना गर्न सकिन्छ। अहिले केही अनलाइन व्यवसायले समेत रोजगारीको अवसर सिर्जना गरेका छन्। वैध बाटोबाट यसरी रोजगारी सिर्जना गर्ने कम्पनीलाई सरकारले पुरस्कृत समेत गर्नुपर्दछ। हामी बढीभन्दा बढी रोजगारी सिर्जना गर्नका लागि प्रयासरत छौं। भर्खरै श्रमधान मेला समापन गरेका छौं।’