News Griha :: न्यूजगृह
कांग्रेस प्रवक्ता डा. महत भन्छन्– अब संविधान संशोधन गर्ने बेला आयो 

काठमाडौं— नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले अब संविधान संशोधनको विषयमा प्रवेश गर्नुपर्ने बेला आएको बताएका छन्। 

बिहीबार लैंगिक समानता अभिवृद्धिका लागि नेपाल महिला संघको भावी कार्ययोजना निर्माण विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले समावेशिता, समानुपातिकता प्रत्यक्ष निर्वाचनबाट मात्र सम्भव भएको भन्दै त्यसको लागि संविधान संशोधनको विषयमा प्रवेश गर्नुपर्ने बताए। 

उनले भने, ‘हाम्रो संविधानमा समानुपातिक र प्रत्यक्ष निर्वाचन प्रणाली छ। अहिले सभापतिले अधिवेशनमा त्यसलाई प्रवेश पनि गराइसक्नुभएको छ। अब हामीले संविधान संशोधनको विषयमा प्रवेश गर्नुपर्छ। समावेशिता, समानुपातिकता प्रत्यक्ष निर्वाचनबाटै हुनसक्छ। अब त्यस बाटोमा नेपाली कांग्रेसले अभियान छेड्नुपर्छ। राष्ट्रिय सहमति जुटाउनुपर्छ।’

यस्तै, उनले राजनीतिक क्षेत्रमा मात्र होइन अन्य क्षेत्रको सम्पूर्ण महिलाको अधिकारको लागि पनि लड्नुपर्ने बताए। 

उनले भने, ‘पछिल्लो समयमा संविधान निमार्ण गर्दा कम्तमिा पनि ३३ प्रतिशत महिलाको अनिवार्य राजनीतिक सहभागिता हरेक तहमा हुनुपर्ने कुरा सुनिश्चित गरेका छौँ। म त्यस्तो दिन हेर्न चाहन्छु, जुनबेला पुरुषहरुको तुलनामा महिलाहरुको ९० प्रतिशत सहभागिता हुन्छ। पहिला ९९ प्रतिशत पुरुष हुन्थे। राजनीतिक क्षेत्रमा मात्र होइन अन्य क्षेत्रको सम्पूर्ण महिलाको अधिकारको लागि पनि हामीले काम गर्नुपर्छ।’

कार्यक्रममा बोल्दै कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीभित्र अन्तर्घात हुने गरेको र त्यसबाट महिलाहरु समेत पीडित रहेको बताए। साथै पार्टीभित्रको अन्तर्घात अन्त्य गर्न सकेमा महिला सशक्तिकरणमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे। 

साथै सोही कार्यक्रममा पार्टीका महामन्त्री विश्वप्रकाश शर्माले समाजमा अहिले सबैभन्दा नेपाली महिलालाई हिंसाबाट मुक्ति गर्ने शान्ति प्रक्रियाको आवश्यकता भएको बताए।

प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  १५:२२
Weather Update