
काठमाडौं— सांसदहरुले आगामी आर्थिक वर्षको बजेटका सन्दर्भमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग गुनासो गरेका छन्।
आज बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तरका क्रममा एमालेका सांसद ठाकुर गैरेले आफ्नो निर्वाचन क्षेत्रमा बजेट लैजान मन्त्री नै हुनुपर्ने हो? भन्दै प्रश्न गरे।
‘प्रधानमन्त्रीज्यू आफ्नो जिल्लामा आम जनताले चाहे जस्तो विकास योजना र बजेट लैजान मन्त्री नै बन्नपर्ने हो र? यदी त्यसो हो भने सांसदहरुलाई आफ्नो क्षेत्रमा बजेट र योजना लैजान सक्ने गरी तपाईंको आफ्नै कार्यकालमा नै सबैलाई मन्त्री बनाउने योजना पो बनाउनुभएको हो की?,’ उनको प्रश्न थियो।
त्यस्तै यसअघि नै प्रधानमन्त्रीले आफूले आगामी आर्थिक वर्षको बजेटमा सानातिना योजनामा पैसा विनियोजन नगर्ने गरेको घोषणा समेत स्मरण गराए। साथै उनले प्रधानमन्त्रीले ३ करोड भन्दा कमका योजनामा पैसा विनियोजन नगर्ने घोषणा गरेको तर शहरी विकास मन्त्रालयले ३ लाख २ लाख १ लाख र कतै हजारका समेत योजना लगेको आरोप टिप्पणी गरे।
त्यस्तै प्रधानमन्त्री प्रचण्डले व्यवहारिक रुपमा बजेट निर्माण भएको दाबी गरेका छन्। उनले ठूला आयोजना संघ, मझौला आयोजना प्रदेश र साना आयोजना स्थानीय तहबाट गरिएको बताए। साथै ३ करोड भन्दा तलका विकास आयोजनाहरु प्रदेश तथा स्थानीय तहबाटै कार्यान्वयन गर्ने गरी काम भइरहेको समेत बताए।