
काठमाडौं— प्रतिनिधि सभामा सांसदले असंसदीय भाषा प्रयोग गरेको भन्दै हंगामा भएको छ।
आज बसेको प्रतिनिधि सभाको शून्य समयमा नेकपा एमालेका सांसद सूर्यबहादुर थापाले बोलेका शब्दमाथि अरु सांसदले आपत्ति जनाएपछि संसद्को रेकर्डबाट हटाइएको हो।
थापाले आफ्नो गृहजिल्ला प्यूठानको गर्मीनी–जामुन सडकखण्ड पहिरोका कारण बन्द भएको बताए। साथै वर्षेनी उक्त सडकमा माथिबाट पहिरो खस्ने गरे पनि त्यसका लागि बजेट नछुट्टाइएको बताए। उनले विपद् व्यवस्थापन समिति र सडक डिभिजन कार्यालयले ‘जब राती तब बुढी ताती’ जस्तै गरी काम गर्ने गरेको बताएका थिए।
प्यूठानको गर्मीनी र जामुन डाँडामा सुख्खा पहिरोका कारण बाटो पटकपटक अवरोध हुँदै आएको विधितै छ। अब वर्षायाममा पनि पहिरो खस्ने र कति दिन बाटो बन्द हुने भन्ने चिन्ता बढ्दो रहेको छ। त्यसैले सरकारले यो बाटोका लागि बजेट नछुट्याएर अन्याय गरेको छ। विपद् व्यवस्थापन समिति र सडक डिभिजन कार्यालयले यी दुई क्षेत्रको बजेट व्यवस्थापन गर्न समयमै बजेट माग पनि गर्दछु,’ उनले भनेका थिए, ‘जसै राती उसै बुढी ताती’ जस्ते गरी जब पहिरो खस्छ तब काम बन्द गरौँ।’
उनको शब्द असंसदीय र लैङ्गिक विभेद गर्दै हेपेको भन्दै कांग्रेस सचेतक सुशिला थिङले उक्त शब्दमाथि आपत्ति ज नाउँदै रेकर्डबाट हटाउन माग गरिन। सभामुख देवराज घिमिरेले उक्त शब्द असंसदीय र लैङ्गिक विभेदसम्बन्धी शब्द रहेको बताउँदै संसद्को रेकर्डबाट हटाउन निर्देशन दिएका हुन्।
सांसदहरुले हाम्रो साधारण बोलिचालीका भाषा र टुक्काहरु प्रयोग गरेका छन्। ती शब्दहरु सुन्दा सामान्य लाग्ने भए पनि त्यसले कुनै वर्ग, क्षेत्र र लिंगमाथि विभेदको अर्थ राख्ने भन्दै संसद्को रेकर्डबाट हटाइँदै आइएको छ।