
काठमाडौं— क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनुवाइ एक साता पछि हुनेछ ।
सोमबार न्यायाधीश दीपक ढकालको इजलासमा पीडितका कानुन व्यवसायीहरूले बहस गरेका थिए। तर दुवै पक्षको बहस नसकिएपछि मुद्दा अर्को साताका लागि सरेको हो ।
न्यायाधीशले उक्त मुद्दालाई निरन्तर सुनुवाइ गर्ने आदेश नगरेकाले अर्को साता यो मुद्दा कुन इजलासमा पर्ने टुंगो छैन । सोमबारकै न्यायाधीश ढकालको इजलासमा परे मुद्दा थप अघि बढ्छ भने अरु न्यायाधीशको इजलासमा परेमा फेरि सुरुदेखि सुनुवाइ गर्नुपर्नेछ ।
उक्त मुद्दाका लागि २४ वैशाखमा अर्को पेशी तोकिएको छ ।
यसअघि २६ चैतमा शंकरराज बरालको इजलासले उक्त मुद्दामा दुई जना साक्षीको बकपत्र नभएकाले साक्षी बुझ्न आदेश दिएको थियो । गत १५ फागुनमा फास्ट ट्र्याकबाट सन्दीपविरुद्धको मुद्दा किनारा लगाउन सर्वोच्च अदालतले दिएको आदेशअनुसार उनको मुद्दामा अन्तिम सुनुवाइ हुन लागेको हो ।
राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान समेत रहेका सन्दीपविरुद्ध भदौ २१ गते एक नाबालिग किशोरीमाथि जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी परेको थियो ।













