News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
गाउँपालिका अध्यक्षले दिए करार अगावै स्वकीय सचिवलाई सुटुक्क डबल तलब, घटना बाहिरिए पछि अवकाश

धनगढी— बैतडीको सुर्नया गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले आफ्नो सचिवालय सदस्यलाई नियम विपरीत तलब भुक्तानी गरेको पाइएको छ । 

गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवर र उपाध्यक्ष मञ्जु महरा बोहराले निजी सचिवालय सदस्यलाई मनोमानी तलब भुक्तानी गरेको पाइएको हो ।

गत वर्षको साउनदेखि गाउँपालिकाले अध्यक्षको स्वकीय सचिवलाई ३४ हजार र उपाध्यक्षको स्वकीय सचिवलाई ३२ हजार मासिक दिँदै आएको थियो । पालिकाले सचिवालय सदस्यसँग गत वर्षको पौषमा सम्झौता गरेको भए पनि उनीहरूलाई साउनबाटै (५ महिना अगाडिबाट ) तलब भत्ता उपलब्ध गराउँदै आएको थियो । 

Prabhu Bank

नियम विपरीत स्वकीय सचिवलाई तलब भत्ता खुवाएको विषयमा गाउँपालिका अध्यक्ष कुँवरसँग प्रतिक्रिया माग्दा उनले स्वीकार गरेका छन् । ‘मैले एक्लो निर्णय गरेर राखेको होइन, कार्यपालिकाको बैठकले नै स्वीकृत गरेकाले राखेको हुँ’, उनले भने, ‘हामीले गल्ती गरेका रहेछौँ अब त्यस्तो हुनेछैन, तुरुन्त उहाँलाई (सचिवालय सदस्य ) अवकाश दिन लगाएको छु ।’ 

उनले आफ्नो गल्ती स्विकार्दै दुवै जना सचिवालय सदस्यलाई अवकाश दिन लगाएको बताए । स्वकीय सचिवसँग यस विषयमा आफ्नो ध्यानाकर्षण भएको बताउँदै उनले अहिलेसम्म सचिवालय सदस्यले तलब बापत बुझेको रकम बढीमा एक साता भित्र फिर्ता दाखिला गराउन आग्रह गरेको बताए । 

सोही विषयमा गाउँपालिका उपाध्यक्ष बोहरासँग कुरा गर्न खोज्दा उनी सम्पर्कमा आएकी छैनन् । अध्यक्ष कुँवर र उपाध्यक्ष बोहराले नियम विपरीत स्वकीय सचिव राखेर तलब भत्ता दिएको विषयमा व्यापक आलोचना भएपछि गाउँपालिकाले सेवा सुविधा बापतको रकम फिर्ता दाखिला गराउने निर्णय गरेको छ । 

गाउँपालिकाको १० पौषमा बसेको कार्यपालिका बैठकले स्वकीय सचिव राख्ने निर्णय गर्दै उनीहरूलाई ११ पौषमा करारमा नियुक्ति दिएको थियो । गाउँपालिकाले ११ पौष देखि करारमा नियुक्ति दिए पनि ५ महिना अगाडी ( १ साउन) देखि नै तलब सुविधा दिने निर्णय गरेको थियो ।

नियमानुसार गाउँपालिका अध्यक्षको सचिवालय सदस्यले मासिक १८ हजार र उपाध्यक्षको सचिवालय सदस्यले मासिक १५ हजार पाउनुपर्ने हुन्छ । तर, अध्यक्ष र उपाध्यक्षको सचिवालय सदस्यलाई(सल्लाहकार) नियम विपरीत ३४ हजार र ३२ हजार तलब भुक्तानी गरेको पाइएपछि चौतर्फी आलोचना भएको हो । 

सचिवालय सदस्यको विषयमा के गर्ने भनेर छलफल भएपछि कार्यविधि बनाएर अघि बढ्ने गाउँपालिकाका प्रवक्ता प्रताप महराले बताए । अध्यक्ष स्तरको बैठकबाट सो सम्बन्धी कार्यविधि नबनुन्जेल सम्मका लागि स्वकीय सचिवहरूलाई अवकाश दिने निर्णय भएको बताए ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  १८:०६
राजनीति
विशेष
Weather Update