News Griha :: न्यूजगृह
पशुपतिको भेटी चोरी: पाँच आरोपित पुर्पक्षका लागि कारागार चलान

काठमाडौं— पशुपतिनाथ मन्दिरको भेटी चोरीमा संलग्न भएको अभियोगमा पक्राउ परेका ६ मध्ये पाँचजनालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। 

बुधबार जिल्ला न्यायाधीश कपिलमणि गौतमको एकल इजलासले थुनछेक बहसपछि पशुपति क्षेत्र विकास कोषका नायब सुब्बा नवराज ढोडारी, मन्दिरका ब्राह्मण नवराज घिमिरे, सञ्जय कपाली, कुमार दमाइ र अनिल परियारलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

५१ वर्षीय नवराज ढोडारी पशुपति क्षेत्र विकास कोषमा नायबसुब्बा पदमा कार्यरत थिए । ३६ वर्षीय नवराज घिमिरे ब्राह्मण थिए । 
यस्तै, कोषका बाजा बजाउने कर्मचारी २९ वर्षीय सञ्जय कपाली, ३४ वर्षीय अनिल परियार, ३५ वर्षीय कुमार दमाइ परियारलाई पनि अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।  

 ५५ वर्षीय सत्यनारायण जोशीलाई भने अदालतले तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । गत जेठ ७ गते पशुपतिनाथको भेटी चोरी गरेको सीसीटीभी फुटेजमा देखिएपछि पक्राउ उनीहरूलाई पक्राउ गरी प्रहरी वृत्त गौशालाको हिरासतमा राखेर अनुसन्धान गरेको थियो । 

जिल्ला सरकारी वकिलको कार्यालयले ६ जनाविरुद्ध २ करोड ३० लाख १० हजार रुपैयाँ बिगो माग दाबी गरेर डाँकाचोरी मुद्दा दर्ता गरेको छ । भेटी चोरी गर्ने समूहलाई ५ वर्षदेखि १० वर्षसम्म कैद र ५० हजार देखि १ लाख रुपैयाँसम्म जरिवानाको माग दाबी गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  ०७:५५
Weather Update