-1718617362.jpg)
काठमाडौं— पूर्व प्रधानमन्त्री एवं एकीकृत समाजवादीका नेता झलनाथ खनालले निर्वाचन परिणाम बदर गर्दै पुनः मतदान गर्न माग गर्दै दायर गरेको रिट खारेज भएको छ।
बुधबार झलनाथसहित निर्वाचनको परिणाम चित्त नबुझी त्यसकोविरुद्ध परेकाे रिट सर्वोच्चको संवैधानिक इजलासमा पेसी तोकिएको थियो।
प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठसहित न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुङ्गाना र मनोजकुमार शर्माको इजलासमा निर्वाचन विवादसम्बन्धी १७ वटा रिटको पेसी तोकिएको थियो।
त्यसमा झलनाथसहित ३ वटा रिट खारेज भएको हो।
रिट खारेज हुनेमा झलनासहित नेपाली कांग्रेसका दुई नेता पनि परेका छन्। जसमा नेपाली कांग्रेसका सुरेन्द्रप्रसाद चौधरी र कांग्रेसकै महेन्द्र यादव रहेका छन्।
चौधरी गत निर्वाचनमा पर्सा क्षेत्र नं ३ बाट पराजित भएका थिए। चौधरीलाई एमालेका राजकुमार गुप्ताले १५१ मतको झिनो अन्तरले पराजित गरेका हुन्। त्यसको विरुद्ध चौधरीले २०७९ साल मंसिर २५ गते सर्वोच्चमा रिट दायर गरेका थिए। उनले मतगणनामा धाँदली भएको भन्दै दोहोर्याएर मतगणना गर्न माग गरेका थिए।
त्यस्तै गत निर्वाचनमा धनुषा–४ बाट प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका यादव पराजित भएका थिए।
एमालेका रघुवीर महासेठले यादवलाई १२४ मतान्तरले पराजित गरेका थिए। त्यसको विरुद्ध यादवले पुनः मतगणनाको माग गर्दै २०७९ मंसिर २८ गते सर्वोच्चमा रिट दायर गरेका थिए।
यता पूर्व प्रधानमन्त्री खनाल गत निर्वाचनमा इलाम– १ प्रतिनिधिसभाको चुनावमा पराजित भएका थिए। उनी एमालेका महेश बस्नेतसँग २९५७ मतान्तरले पराजित भएका थिए।
पराजित भएपछि खनालले निर्वाचन बदर गरी पुनः मतदानको माग गर्दै २०७९ मंसिर २७ गते रिट दायर गरेका थिए।
त्यस्तै निर्वाचनको परिणाम चित्त नबुझाइ दायर अन्य रिटहरु ‘हेर्न नभ्याइने’ मा राखिएको छ।













