
काठमाडौं— संघीय संसद् सचिवालयका कर्मचारीहरुको असहयोगका कारण प्रतिनिधि सभा बैठक स्थगित भएको छ।
विभिन्न ११ बुँदे माग राखेर संसद् सचिवालयका कर्मचारीहरुले आन्दोलन गरिरहेका छन्। तर सभामुख देवराज घिमिरेले त्यसको वेबस्ता गर्दै बैठक सञ्चालन गर्दै आइरहेकोमा कर्मचारीहरुले पनि असहयोग गरिरहेका हुन्।
आज बसेको प्रतिनिधि सभा बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयबारे बजेटमा उठेका प्रश्नहरुको जवाफ मन्त्रीहरुले दिने कार्यसूची रहेको थियो।
बैठकमा स्वास्थ्यमन्त्री प्रदीप यादवले विनियोजन विधेयकका सन्दर्भमा आफ्नो मन्त्रालयबारे उठेका प्रश्नहरुको जवाफ दिए। तर त्यसपछि त्यस सम्बन्धमा सांसदहरुलाई धारणा राख्न सभामुख देवराज घिमिरेले एक मिनेटको समय दिएका थिए। तर संसद् सचिवालयका कर्मचारीहरुले संसद्को लाईभमा सभामुखलाई मात्रै देखाए।
त्यस क्रममा कांग्रेस सांसद रामहरि खतिवडाले कर्मचारीले ‘ब्ल्याक आउट’ गरिरहेको र सांसदहरुलाई लाईभमा नदेखाइएको भन्दै यसरी संसद् चलाउन नहुने सुझाव दिएका थिए।
त्यसपछि अझै केहीबेर सभामुख घिमिरे रोकिए। तर निरन्तर उनलाई मात्रै लाईभमा देखाइएछि विशेष कारण देखाउँदै बाँकी कामकारबाही स्थगित गरिएको घोषणा गरे।
अर्को असार ६ गते बिहीबार (भोलि) बिहान ११ बजे बस्नेगरी स्थगित गरेको जानकारी गराए।