
काठमाडौं— संसदीय समिति गठन र टीआरसी विधेयकका विषयमा प्रमुख दलका शीर्ष नेताहरूले सहमति गरेका छन् ।
सोमबार सिंहदरबारमा बसेको नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका नेताबीचको बैठकले पछिल्लो गतिरोध अन्त्य गर्ने सहमति गरेको हो ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको छलफलमा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई निष्कर्षमा पुर्याउन विशेष समिति गठन गर्ने सहमति गरिएको बैठकमा सहभागी एक नेताले बताए ।
एमालेका प्रमुख सचेतक पदम गिरीले संवैधानिक परिषद्सम्बन्धी विधेयक सीधै संसदमा लगेर पारित गर्ने सहमति भएको बताए ।
विपक्षी दल एमालेको अडानबमोजिम संसदीय समितिको नेतृत्वमा पनि दलहरुबीच सहमति भएको स्रोतको भनाइ छ । एमालेले २ विशेष समितिमध्ये राज्यका निर्देशक सिद्धान्त अनुगमन तथा निर्देशन विशेष समितिको सभापति पाउने भएको छ । प्रतिनिधिसभाका १० वटा विषयगत समितिमध्ये एमालेले लेखा समिति र थप एक समितिको सभापति पाउने सहमति भएको छ ।
प्रमुख सत्तारुढ दल कांग्रेसले संसदीय विशेष सुनुवाइ समितिको सभापति लिने सहमति भएको छ । संवैधानिक परिषद्सम्बन्धी कानुनमा समस्याका कारण प्रधानन्यायाधीश नियुक्तिको सिफारिस अघि बढ्न सकेको छैन ।
यो सहमतिसँगै अब संवैधानिक परिषद्बाट प्रधानन्यायाधीश नियुक्ति सिफारिस, संसदीय सुनुवाइ समिति गठनलगायतका सबै प्रक्रिया अघि बढ्नेछ ।
शीर्ष नेताको उक्त छलफलमा कांग्रेसबाट सभापति शेरबहादुर देउवा र प्रमुख सचेतक रमेश लेखक थिए भने एमालेबाट अध्यक्ष केपी ओली, संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रमुख सचेतक पदम गिरी सहभागी थिए । त्यस्तै माओवादीबाट प्रधानमन्त्री पुष्पकमल दाहालसहित प्रमुख सचेतक हितराज पाण्डे सहभागी थिए ।













