-1718700997.jpg)
काठमाडौं— सहकारीको बचत रकम अपचलनका विषयमा छानबिन गर्न बनेको संसदीय विशेष समितिले कानुनी परामर्श गरेको छ।
यसअघि मंगलबार समितिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सहकारी विभाग लगायत सम्बन्धित पक्षसँग परामर्श गरेको थियो। आज कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, नेपाल कानुन आयोग लगायत सरोकारवालासँग छलफल गरेको हो।
छानबिनका क्रममा कानुनी जटिलता नआओस् भन्नका लागि कानुनी परामर्श गरेको समितिका संयोजक सूर्यबहादुर थापाले बैठकपछि जानकारी दिए।
‘आज उहाँहरूसँग भोलि छानबिनको क्रममा आइपर्ने विविध पक्षहरुका सन्दर्भमा कानुनी प्रबन्धहरूलगायतका विषयमा छलफल गरेका छौँ। समितिले उहाँहरूसँगको छलफलबाट लाभान्वित भएको महसुस गरेको छ,’ उनले भने।
अर्को बैठक बिहीबार बिहान १० बजे बस्ने उनले बताए।
सहकारी ठगी प्रकरणका विषयमा छानबिन गर्न माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निरन्तर संसद्मा अवरोध सिर्जना गरेको थियो। कांग्रेसको निरन्तरको अवरोधपछि गत जेठ १५ गते सहकारी ठगी प्रकरणको छानबिन गर्न विशेष समिति बनाइएको हो। उक्त समितिलाई ३ महिनाको समय दिइएको छ। उक्त समयभित्र समितिले प्रतिवेदन तयार गरी बुझाउनुपर्नेछ।