
काठमाडौं— तराईका जिल्लाहरुमा हत्या हिंसासम्बन्धी घटना बढेपछि त्यसको निराकारणका लागि भारतसँगको खुला सीमामा कडाइ गर्नुपर्ने आवाज उठेको छ।
बुधबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै एमाले सांसद रघुजी पन्तले तराईमा पारी (भारत) बाट आएका व्यक्तिहरु हत्या हिंसामा संलग्न रहने गरेको भन्दै त्यसको निराकरणमा ध्यान दिन आग्रह गरे।
उनले अहिले तत्कालै पासपोर्ट सिस्टममा जान नसकिने भए पनि सुरुमा सीमामा काँडेतार लगाउने र नेपालबाट जाँदा नागरिकता, राष्ट्रिय परिचयपत्र र भारतबाट आउँदा आधार कार्ड जाँच गर्नुपर्ने माग गरे।
‘केहीदिनदेखि तराईका जिल्लाहरुमा मानिसहरुमाथि गोली हालेको समाचार आइरहेका छन्। यसको मुल कारण खुला सीमाना हो। त्यसैले खुला सीमानालाई एउटा स्वतन्त्र देशले नियमित र नियन्त्रण गर्नैपर्छ। हामी एकैचोटी पासपोर्टको सिस्टममा नजाऔंला। तर, अहिले राष्ट्रिय परिचय पत्र र नागरिकता पनि दिन थालिएको छ।
उताबाट आउँदा पनि भारतसँग आधार कार्ड हेर्न सकिन्छ यताबाट जाँदा पनि नागरिकताको प्रतिलिपी हेर्न सकिन्छ। विस्तारै त्यहाँबाट सुरु गरेर काँडेतार लगाउँदै सीमालाई व्यवस्थित गर्दै पासपोर्ट सिस्टममा हामी जानैपर्छ,’ उनले भने।
त्यस्तै त्यसका लागि सशस्त्र प्रहरीलाई स्रोत र साधनहरु उपलब्ध गराउँदै शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन माग गरे।
‘यसका लागि सशस्त्र प्रहरीलाई साधनस्रोत र आवश्यक सुविधा दिनुपर्छ। सशस्त्र प्रहरी भएको ठाउँमा मान्छेहरुले सुरक्षित फिल गरेका छन्। त्यसैले तराईंमा बिग्रिएको सुरक्षालाई ध्यानमा राखेर आन्तरिक रुपमा नेपाल प्रहरी र सीमाका लागि सुरक्षा प्रहरी बिशेष रुपले परिचालन गर्नुपर्छ’ उनले भने।