
काठमाडौं— २०७९ साल मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको नतिजाविरुद्ध परेका १७ वटा रिटको पेसी तोकिएको छ।
बुधबार निर्वाचन सम्पन्न भएको १८ महिनापछि ‘पुनः निर्वाचन गरि पाउँ, पुनः मतगणना गरिपाउँ’ लगायतका माग राख्दै परेको रिटको पेसी सर्वोच्चको संवैधानिक इजलासमा तोकिएको हो।
प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठसहित न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुङ्गाना र मनोजकुमार शर्माको इजलासमा पेसी तोकिएको हो।
निर्वाचनसम्बन्धी विवाद संवैधानिक इजलासले हेर्ने व्यवस्था अनुसार ती रिटको पेसी संवैधानिक इजलासमा तोकिएको हो।
निर्वाचन परिणामबारे पूर्व प्रधानमन्त्री एवं एकीकृत समाजवादीका नेता झलनाथ खनाल, एमाले नेता कर्णबहादुर थापा, नेपाली कांग्रेसका नेता महेन्द्र यादव लगायतले पुनः मतगणना गर्न र पुनः निर्वाचन गर्न माग गर्दै निवेदन दिएका थिए।
निर्वाचनमा पराजित भएका, समानुपातिकमा नाम नपरेका, निर्वाचनमा धाँधली भएको भन्दै नेताहरुले निर्वाचन आयोगलाई विपक्षी बनाइ रिट दायर गरेका हुन्।
निर्वाचन सम्पन्न भएको लामो समय भएका कारण ती विषय पुराना भएको र ओझेलमा पर्न सक्ने कानुन व्यवसायीहरुको तर्क छ।













