News Griha :: न्यूजगृह
दूध किसानको भुक्तानी तत्काल गरियोस्, पक्राउ गर्ने कदम सैह्य भएनः एमाले 

काठमाडौं— सत्तारुढ दल नेकपा एमालेले लामो समयदेखि दूधको भुक्तानी नपाएका किसानहरुको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ। 

बुधबार बसेको प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै एमाले प्रमुख सचेतक महेश बर्तौलाले दूधको भुक्तानी माग गर्दै आन्दोलनरत किसानहरुको रिहाइको समेत माग गरे। 

लामो समयदेखि दूधको भुक्तानी नपाएपछि आजबाट देशभरबाट आएका धेरै किसानहरुले आन्दोलन थालेका छन्। तर प्रहरीले उनीहरुलाई पक्राउ गरेको भन्दै बर्तौलाले किसानमाथीको व्यवहार सैह्य नभएको बताए। 

बर्तौलाले भने, ‘दूध किसानले आजदेखि काठमाडौंमा आन्दोलन गर्न खोज्दै हुनुहुन्थ्यो। अनुमति लिएर धर्ना गर्दै हुनुहुन्थ्यो। तर, प्रहरीहरुले धरपकड गरे। ४५ भन्दा बढी किसानलाई नियन्त्रणमा लिएर कालीमाटीमा राखिएको छ। उहाँहरूमाथि मर्यादित व्यवहार भएन भन्ने छ।’ 

त्यस्तै देशभरका करिब ६ लाख किसानले ६ अर्ब भन्दा बढी भुक्तानी पाउनुपर्ने भन्दै तत्काल भुक्तानीको व्यवस्था गर्न माग गरे। 

‘सरकारको, कृषि मन्त्रालय, अर्थ मन्त्रालय र प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँछु। दूध किसानको भुक्तानी गरियोस्,’ उनले भने। 

देशभरका किसानहरुले लामो समयदेखि दूधको भुक्तानी पाइरहेका छन्। त्यसो त कतिपय जिल्लाका किसानहरुले प्रधानमन्त्रीलाई भेटेरै त्यसको समस्या समाधान गर्न माग गरिरहेका छन्। 
 

प्रकाशित मिति: बुधबार, असार ५, २०८१  १२:४३
Weather Update