
काठमाडौं— नेकपा एमालेका सांसद गोकुल बास्कोटाले संसद्मा प्रस्तुत भएको आगामी आर्थिक वर्षको बजेट माओवादी केन्द्रको इच्छाअनुसार आएको टिप्पणी गरेका छन्।
आज बसेको प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा सो कुरा बताएका हुन्।
आफूहरु सत्ता पक्षमै, एउटै गठबन्धन र समीकरणमा भए पनि आफूहरुले बजेट निर्माणका बेला अर्थमन्त्रीसँग भेट्न बोल्न नपाएको गुनासो गरे।
‘प्रत्यक्ष निर्वाचन लडेर तल हुनेनहुने सारा सपना बाँडेर घोषणापत्र हेरेर बोलेर आइयो। के हामी यहाँ ढाटको मानु पचाउन बोल्नुपर्ने? सत्ता समीकरणको पनि छनक छैन। तीतो भए होस्, सत्य यही हो,’ बास्कोटाले भने, ‘अर्थमन्त्रीसँग भेट्न र कुरा गर्न पाइएन। बजेट त लक हुन्छ नै मन्त्रालयको ढोका पनि लक भए। दुश्मनै त होइनौं होला हामी पनि!’
त्यस्तै आफूले अर्थमन्त्रीले भन्ने गरेको जस्तो छलाङ माओवादीका नेता र मन्त्रीहरुका लागि मात्रै फेरिएको टिप्पणी गरे। त्यस्तै बजेट निर्माण गर्दा जसको हातमा डाडुपन्यौ भयो उसकै भागमा बढी परेको भन्दै टिप्पणी गरे।
‘मैले सोचेको थिएँ सरकार फेरियो, सत्ता समीकरणको प्रतिबद्धता पनि फेरियो। अर्थमन्त्रीले भन्नुभयो– छलाङ हानिन्छ। शीर्षक हेर्छु, विनियोजित रकम हेर्छु छलाङ, जसको हातमा डाडुपन्यु त्यतैतिर हानिएको छ,’ बास्कोटाले भने।
विनियोजन शीर्षकमाथिको छलफलका क्रममा सांसदहरुले बजेटमा विभेद गरिएको भन्दै गुनासो गरिरहेका छन्।