-1717758427.jpg)
काठमाडौं— नेपाली कांग्रेसका सांसद हृदयराम थानीले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई आफूले बोलेको अभिव्यक्तिको जिम्मेवारी लिनुपर्ने बताएका छन्। उनले गिरीबन्धु टी–स्टेट जग्गा छानबिन, केन्टोनमेन्टको घोटाला, ओम्नी र यती तीन प्रकरणको छानबिन गरेर देखाउन चुनौती समेत दिए।
मंगलबार प्रतिनिधि सभा बैठकमा मन्त्रालयगत छलफलमा सहभागी थानीले तीन वटा फाइल खोल्यो भने देशका अधिकांश नेता जेलमा हुन्छन, संसद्मा हुँदैनन् भनेर दिएको अभिव्यक्तिलाई पुष्टि गरेर देखाउन चुनौती दिएका हुन्।
‘तपाईंकै शब्दमा भन्छु –मन्त्रीज्यु तपाईंले मुटु सिंहको जस्तो हुनुपर्छ। फिस्टाको जत्रो होइन भन्नुभयो। तीनवटा फाइल कुनकुन हुन भन्न सक्नुहुन्छ? सक्नुहुन्छ भने फाइल खोल्न किन ढिलो गरिरहनुभएको छ?,’ उनले भने।
त्यस्तै सांसद थानीले गृहमन्त्रीलाई उक्साउँदै थपे, ‘गिरीबन्धु टी–स्टेटको छानबिन गर्न तपाईंको सिंहको मुटु छ? सक्नुहुन्छ तपाईंले? क्यान्टोनमेन्टको घोटालाबारे छानबिन गर्न सक्नुहुन्छ? तपाईं ओम्नी र यतीको बारेमा छानबिन गर्न सक्नुहुन्छ?’
यस्तै उनले सहकारी ठगीको नाइके जिबी राइलाई पक्राउ गरेर ल्याउँछु भनेर गृहमन्त्रीले बोलेको कुरा स्मरण गराउँदै पक्रेर देखाउन आग्रह गरे।
‘२०८० साल चैत १० गते जिबी राई आकाश होस् कि पातालमा समातेर ल्याउँछु भन्नुभयो। गृहमन्त्रीजी यो कुरा याद छ कि छैन?,’ थानीले थपे, ‘कहाँ गए आज जिबी राई? त्यसको ठिक ५० दिनपछि ०८१ बैशाख २९ गते तपाईंले भरतपुर विमानस्थलमा भन्नुभयो कि जिबी राईलाई अघिल्लो सरकारले भगाएको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल हुनुहुन्छ। पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठ तपाईंको अगाडि हुनुहुन्छ। अघिल्लो सरकारले भगायो कि भगाएन? त्यसको दोष कसले लिने? ५० दिनपछि तपाईंले भाषा फेर्नुभएको छ, यस्तै तरिकाले मुलुक चल्छ ,गृहमन्त्रालय चल्छ?’
उनले सत्तामा बसेर गृहमन्त्रीले कांग्रेसलाई धम्याइरहेको भन्दै निर्मलाको हत्यारा पत्ता लगाउँछु भनेर आफैंले गरेको निर्णय गृहमन्त्रीले पूरा नगरेको बताए।