काठमाडौं— भारतीय नेसनल कांग्रेसका नेता राहुल गान्धीले केरलाको वायनाड सिटबाट राजीनामा दिने भएका छन्। हालै सम्पन्न निर्वाचनमा राहुलले उत्तर प्रदेशको रायबरेली र केरलाको वायनाड गरि दुई ठाउँबाट चुनाव जितेका थिए।
कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गेले राहुल गान्धीले केरलाको वायनाड सिटबाट राजीनामा दिने जानकारी दिएका हुन्। यस बारेमा निर्णय गर्ने आज अन्तिम दिन हो। अब कांग्रेसले वायनाडको उपचुनावमा प्रियंका गान्धीलाई चुनाव लडाउने भएको छ।
समाचार एजेन्सी एएनआईसँग अध्यक्ष खड्गेले भनेका छन्, 'राहुल गान्धी दुई सिटबाट निर्वाचित भएका छन्। कानुन अनुसार उनले एउटा सिट खाली गर्नुपर्छ र उनी एउटा सिटमा सांसद रहन सक्छन्। हामीले निर्णय गरेका छौं कि राहुल गान्धी रायबरेली सिटबाट सांसद हुनेछन्, किनभने उनको परिवार पहिलेदेखि नै रायबरेलीसँग नजिक छ।’
राहुल गान्धीले एएनआईसँग रायबरेली र वायनाड दुवैसँग आफ्नो हृदयको सम्बन्ध रहेको बताएका छन्। राहुल गान्धीले पनि प्रियंका वायनाडबाट चुनाव लड्ने बताएका छन्।