News Griha :: न्यूजगृह
Current-Landing-pageCurrent-Landing-page
नेपाली लोकतन्त्र जय होस्

नेपालमा आज लोकतन्त्र दिवस । ११ वैशाख नेपाली लोकतन्त्र स्थापित भएको दिन ।

नेपाली लोकतन्त्रले आज १७ वर्ष पूरा गरेको छ । दोस्रो जनआन्दोलनका रुपमा चर्चित २०६/६३ को राजनीतिक आन्दोलन सफल भएको दिनलाई स्मरण गर्दै यो दिवस मनाउने गरिन्छ । २०६२/६३ को आन्दोलनपछि आजैको दिन तत्कालीन राज्यसत्ता आन्दोलनकारी शक्तिसँग सम्झौता गर्न बाध्य भएको थियो । ११ वैशाख २०६३ राति राजतन्त्रले संसद् पुनःस्थापनाको घोषणा गरी आफ्नो आयु अन्त्यको दिन गणना प्रारम्भ गरेको थियो ।

निश्चय पनि आजको दिन नेपाल र नेपालीका लागि विशेष छ । थुप्रै सहिदको शहादतपछि स्थापित यो दिनको भावनात्मक महत्व हाम्रा लागि निश्चय पनि स्मरणयोग्य छ । यस दिनपछि मात्र नेपालीले स्वयंलाई देशको सम्प्रभु नागरिकका रुपमा स्थापित र परिभाषित गर्ने अवसर प्राप्त गर्न सकेका हुन् । रैतीबाट जनता–नागरिक बनेका हुन् । दोस्रो जनआन्दोलनको सर्वाधिक महत्वपूर्ण उपलब्धि नै देशमा लोकतन्त्र स्थापित हुनु हो ।

विगतमा दुई सय ४० वर्षभन्दा बढी समयदेखि सञ्चालन हुँदै आएको राजतन्त्रको अन्त्यको जग आजैको दिनले बसाएको हो । आजैको दिनको जगमा टेकेर नेपालमा गणतन्त्र स्थापना भएको हो भन्दा असत्य ठहर्दैन । एउटा व्यक्ति र परिवारबाट देशको शासन सत्ता जनतामा आउने कुराको सुनिश्चितता यही दिनले गरेको हो । यस अर्थमा आजको दिन नेपालीका लागि निकै विशेष छ । त्यसो त २०६२/६३ को आन्दोलनको विरोध र आलोचना गर्नेहरूको पनि कमी छैन । तर तिनले पनि के बुझ्नुपर्छ भने विरोध र आलोचना गर्न अधिकार पनि तिनलाई यही लोकतन्त्रले दिएको हो । लोकतन्त्रको सर्वाधिक महत्वपूर्ण पक्ष नै यही हो कि यसले आफूविरुद्ध पनि विचार अभिव्यक्त गर्ने स्वतन्त्रता आम व्यक्तिलाई प्रदान गर्दछ, जुन कुरा हिजोको राजतन्त्रमा सम्भव थिएन । लोकतन्त्रको मूल ध्येय नै आम व्यक्तिलाई अधिकारसम्पन्न बनाउँदै देशमा सकारात्मक परिवर्तन ल्याउनु हो । 

लोकतन्त्र दिवसका बारेमा चर्चा गरिरहँदा सर्वप्रथम लोकतन्त्रको अर्थ र परिभाषाकै सन्दर्भमा कुरा गरेर नेपाली लोकतन्त्रको विश्लेषण गर्नु जरुरी हुन्छ । प्रसिद्ध दार्शनिक एरिस्टोटल (अरस्तु)ले लोकतन्त्रलाई परिभाषित गर्ने सन्दर्भमा लोकतन्त्रमा धनीभन्दा गरिबहरू बढी शक्तिशाली हुन्छन् किनकी समाजमा गरिबहरूको वर्चस्व हुन्छ भनेर भनेका छन् ।

अर्का प्रसिद्ध विचारक एवं अमेरिकाका पूर्वराष्ट्रपति अब्राहम लिङ्कनको, जनताद्वारा जनताका लागि जनतामार्फत गरिने शासन व्यवस्था नै वास्तविक लोकतन्त्र हो, भन्ने भनाइबाट आजको युगमा कोही पनि अनभिज्ञ छैनन् । लोकतन्त्रका बारेमा थोरै पनि जानकारी राख्ने जो कोहीले पनि लिङ्कनको यो भनाइका बारेमा थाहा पाएका छन् । 

यस शताब्दीका महान विचारक नोवेल पुरस्कार विजेता अमत्र्य सेनले लोककल्याणकारी राज्य र सरकारका सन्दर्भमा लोकतन्त्रको महत्व प्रष्टयाउँदै भनेका छन्– समकालीन समाजमा लोकतान्त्रिक मूल्यमान्यतालाई आत्मसात गरेको सरकारले मात्र जनताका आधारभूत आवश्यकता र चाहनालाई सम्बोधन गर्ने सामर्थ्य राख्छन् । 

अर्का विचारक समाजशास्त्री जेम्स माहोनीले व्यक्त गरेको विचार पनि निकै महत्वपूर्ण छ । उनको विचार मननीय मात्र छैन, विश्लेषण गर्ने हो भने उनको विचारले लोकतान्त्रिक शासन व्यवस्थाको  परीक्षण गर्ने कसी पनि हो भन्दा अस्वाभाविक हुँदैन । उनको शब्दमा– लोकतन्त्रले सहभागिता मूलक शासन व्यवस्थामा विश्वास गर्दछ, पारदर्शिताको वकालत गर्दछ र उत्तरदायित्वलाई सधैँभरि आत्मसात गर्दछ । उनको विचारको विश्लेषण गर्ने हो भने लोकतन्त्रका सन्दर्भमा आजको शासन सहभागिता मूलक, पारदर्शी र उत्तरदायी हुनुपर्छ भन्ने कुरा स्पष्टरूपमा बुझ्न सकिन्छ । बुझ्नुपर्छ ।

छिल्लो पुस्ताको लोकतन्त्रको कुरा गर्ने हो भने लोकतन्त्र प्रतिनिधिमूलक होइन सहभागिता मूलक हुनु जरुरी छ । लोकतन्त्रका सञ्चालकहरूको ध्यान यसतर्फ जतिसक्दो छिटो आकर्षित हुनु आवश्यक छ । 

माथि उल्लेखित विभिन्न विचारहरूको आलोकमा विश्लेषणको प्रयत्न गर्ने हो भने नेपाली लोकतन्त्रको विद्यमान अवस्थाबाट पूर्णतः सन्तुष्ट हुन सकिने अवस्था छैन । माथिका सबै विचारले नागरिक र जनतालाई केन्द्रमा राखेको छ । तर नेपाली लोकतन्त्रको अवस्थाको मूल्याङ्कन गर्ने हो भने यहाँ जनतालाई केन्द्रमा राख्ने कुरामा अझै केही समस्या छन् ।

लोकतन्त्र दिवसको सन्दर्भमा एउटा कुरा स्वीकार्नै पर्छ, नेपाली लोकतन्त्र अझै पनि सुदृढ र संस्थागत हुने दिशामा अनेकौँ चुनौती र समस्या विद्यमान छन् । लोकतन्त्र धेरै हदसम्म जनतालाई आवश्यक सेवा प्रदान गर्ने सेवा प्रदायक संयन्त्र हो । तर दुःखका साथ भन्नुपर्ने हुन्छ नेपाली लोकतन्त्रले आफूमा यो चरित्रको समुचित विकास अझै पनि गर्न सकेको छैन । विभिन्न नाममा हुने अनियमितता र भ्रष्टाचार नेपाली लोकतन्त्रका प्रमुख चुनौती बनेका छन् । यसैगरी नातावाद र कृपावाद अर्काथरि धमिरा बनेका छन् । जबकी यी विसङ्गतिहरुको लोकतन्त्रसँग कुनै साइनो हुँदैन । 

यस्तै विसङ्गतिहरुबाट समाजलाई मुक्त पारी जनतालाई आवश्यक सेवा सहज रुपमा प्रदान गर्ने प्रक्रियालाई चुस्त बनाउनुु लोकतन्त्रको महत्वपूर्ण गुण हो । आज झस्केलाबाट लोकतन्त्र विरोधीहरुले लोकतन्त्र नै अफाप भयो भन्ने प्रचार गर्ने अवसर पाएका छन् र यसमा कुनै शङ्का छैन उनीहरुलाई यो अवसर नेपाली लोकतन्त्रका सञ्चालकहरुले नै प्रदान गरेका हुन् । लोकतन्त्रका पक्षपातीहरु यी विषयमा गम्भीर हुन नसक्दा अधिनायक र एकाधिकारवादीहरुका लागि यो स्थिति अनुकूल हुने खतरा बढेको कुरालाई अस्वीकार गर्न सकिँदैन । कम्तिमा अहिले सरकारको नेतृत्वमा रहेकाहरुका लागि यी कुरा सोचनीय छन, हुनुपर्दछ । 

लोकतन्त्रका सन्दर्भमा देखिएका र देखिने यी समस्या नेपालको मात्र नहुन सक्छ । कुनै न कुनै रुपमा विश्वमै यसबारे बहस चलिरहेका छन् । पछिल्ला दिनहरुमा विश्वमा लोकप्रियताबादको अवधारणाले स्थान बनाउन खोजेको पाइन्छ । आम व्यक्ति सिद्धान्त र व्यवहारभन्दा पनि यदाकदा लोकप्रियताको चास्नीमा फस्न पुग्छन् । यस्तो लोकप्रियताले व्यक्तिपूजनको अवस्थाको सिर्जना गर्दछ र यस्तो अवस्थाले कालान्तरमा लोकतन्त्र नै सङ्कटमा पर्न सक्ने सम्भावना निम्त्याउन सक्छ । 

कुनै दुई मत छैन, विश्वकै उत्कृष्ट शासन व्यवस्था हो, यसमा शङ्का छैन तर लोकतन्त्र कहिल्यै पनि स्वयंमा पूर्ण शासन प्रणाली होइन, यसमा पनि शङ्का हुन सक्दैन । सत्य त के हो भने लोकतन्त्र मात्र यस्तो शासन प्रणाली हो, जसले स्वयंमा उत्कृष्टताहरु थप्न र सर्वोत्कृष्ट बनाउन आवश्यक संयन्त्र, अवयव र सिद्धान्तहरुको उपस्थिति तथा संलग्नतालाई स्वीकार गर्छ । अन्तरव्यवस्थापिका परिषद्ले यस विषयमा चासो राख्ने गरेको छ र लोकतन्त्रलाई जनताको जिम्मेवार शासन प्रणालीका रुपमा विकसित गर्ने प्रयत्न थालेको छ ।

लोकतन्त्रको विकल्प भनेको निरन्तर लोकतान्त्रिकरण मात्र हो । लोकतन्त्रका मूल्य पद्धतिमा परिष्कृत गर्दै मानव चाहनाको उच्चतम् सम्बोधनमार्फत प्रणालीगत सुधारमा चिन्तन–प्रवाह जारी छ । लोकतन्त्रले सामाजिक जीवनमा पारेको अद्भूत प्रभावलाई आज विश्वव्यापीरुपमा स्वीकार गरिएको छ । नेपालमा लोकतन्त्र र यसपछि गणतन्त्रको स्थापना भएको छ र विकसित भइरहेको छ । नागरिक साँच्चै सम्प्रभु सम्पन्न भएका छन् र वैयक्तिक विकासको मार्गमा होमिएका छन् । नागरिकले विगतदेखि वर्तमानसम्मको अनुभवको आधारमा लोकतान्त्रिक शासनलाई उत्कृष्ट ठहर्याएका छन् । मूल कुरा हो जनताको जीवनस्तरमा सुधार । जनतालाई विश्वास छ, लोकतन्त्रले उनीहरूको आशालाई साकार रूप प्रदान गर्नेछ । कम्तीमा लोकतन्त्रका पक्षपातीबाट यस दिशामा सामूहिक प्रयत्न आवश्यक छ ।

लोकतन्त्र दिवस मनाइरहँदा योसँग जोडिएर थुप्रै विषय हाम्रासामु उपस्थित छन् । मूल विषय जनताले अनुभूत गर्ने उपलब्धि र राजनीतिक प्रणालीको संस्थागत विकासको कुरा हो । आम नेपाली जनताको ठूलो सङ्घर्ष पछि प्राप्त लोकतन्त्रको विद्यमान अवस्था र चित्रका सन्दर्भमा हामीले गम्भीर वस्तुगत विश्लेषण गर्नु आवश्यक छ ।

(लेखक राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष हुन् ।) 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  १६:०४
sagarmatha cementsagarmatha cement
Weather Update