News Griha :: न्यूजगृह
राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपतिबीच भेटवार्ता

काठमाडौं—  राष्ट्रपति रामचन्द्र पौडेल र जर्मनीका राष्ट्रपति फ्रयाङ्क वाल्टर स्टाइनमायरबीच सोमबार भेटवार्ता भएको छ।

जर्मनीको बर्लिनस्थित राष्ट्रपति भवनमा भएको भेटवार्ताका क्रममा राष्ट्रपति पौडेलले नेपालले जर्मनीसँगको सम्बन्धलाई सदैव उच्च महत्व दिएको र बदलिदो विश्व परिवेशमा यो सम्बन्ध अझ घनिष्ठ हुने विश्वास व्यक्त गरे। 

सोसलिस्ट इन्टरनेसनल तथा प्रोग्रेसिभ एलायन्स जस्ता संस्थाहरू सामाजिक न्याय, मानव अधिकार, लोकतन्त्र, कानुनी राज्य तथा स्वतन्त्रता लगायतका लागि विश्वस्तरमा अझ क्रियाशील रहनुपर्ने धारणा राष्ट्रपति पौडेलले राखे ।

उनले नेपालको शान्ति प्रक्रियामा जर्मनीबाट प्राप्त सहयोगको लागि धन्यवाद दिँदै नेपालको विकासको पथमा मित्र राष्ट्र जर्मनीको निरन्तर साथ र सहयोग रहनेमा विश्वस्त रहेको बताएका राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले  बताए।

हालैका वर्षहरूमा जर्मनी नेपाली युवाहरूको लागि उच्च शिक्षा अध्ययन, सीपयुक्त काम र सीप जन्य तालिमको लागि एक आकर्षक गन्तव्यको रुपमा स्थापित भएको तथा नेपाल र जर्मनीबीच सीपयुक्त श्रम आप्रवासन र ज्ञान आदानप्रदानका क्षेत्रमा गत वर्ष एक सम्झौतामा हस्ताक्षर सम्पन्न भएकोले यसको कार्यान्वयनबाट जनस्तरको सम्बन्ध अझ मजबुत हुने राष्ट्रपति पौडेलले बताए। 

जर्मनीका राष्ट्रपति फ्रयाङ्क वाल्टरले जर्मनी नेपालको आर्थिक विकासको लागि हरतरहको सहयोग गर्न तत्पर रहेको बताएका उनको भनाइ उदृत गर्दै राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार पोखरेलले जानकारी दिए। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, असार ३, २०८१  २१:१०
Weather Update