News Griha :: न्यूजगृह
रवि लामिछानेलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं— निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई स्पष्टीकरण सोधेको छ । उपनिर्वाचन अन्तर्गत आइतबार भएको मतदानका क्रममा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको  भन्दै चितवन क्षेत्र नम्बर २ का उम्मेदवार लामिछानेलाई आयोगले स्पष्टीकरण सोधेको हो । 

नेपाली कांग्रेस चितवनले लामिछानेसहित प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका विरुद्ध निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन कार्यालयमा उजुरी दिएपछि कार्यालयले लामिछानेलाई स्पष्टीकरण सोधेको हो ।

निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले आइतबार अबेर स्पष्टीकरण सोधिएको र आइतबारै जवाफ आएको बताए । उनका अनुसार प्राप्त जवाफ निर्वाचन आयोगमा पठाइएको छ । 

निर्वाचन भइराखेको समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उम्मेदवार रवि लामिछानेले फेसबुक लाइभमार्फत मत मागेको, मतदान स्थलमा हूल हुज्जत गरी प्रचार गरेको र प्रमुख जिल्ला अधिकारी पौडेलले लामिछानेलाई नै सहयोग गरेको भन्दै कांग्रेसले उजुरी दिएको थियो । 

उजुरीमा निर्वाचन ऐन, निर्देशिका, कार्यविधि र निर्देशनबमोजिम दोषीमाथि कारबाहीको माग गरिएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  १४:२७
Weather Update