News Griha :: न्यूजगृह
भारतको पश्चिम बंगालमा दुई रेल एकआपसमा ठोक्कियो, पाँच जनाको मृत्यु 

काठमाडौं— भारतको पश्चिम बंगालमा मालबाहक रेलले यात्रुबाहक कञ्चनजंगा एक्सप्रेस रेललाई ठक्कर दिँदा कम्तीमा पाँच यात्रुको मृत्यु भएको छ भने दुर्घटनामा परी २० जनाभन्दा बढी यात्रु घाइते भएका प्रहरीले जनाएको छ।

सोमबार बिहान भएको दुर्घटनामा पाँच यात्रुको मृत्यु भएको र २० जना बढी घाइते भएको र उनीहरुको अवस्था गम्भीर रहेको दार्जिलिङका प्रहरीका एसपी अभिषेक रोयलले जानकारी दिएका छन्। 

दुर्घटना सोमबार स्थानीय समय अनुसार बिहान करिब ८ः४५ बजे नयाँ जलपाइगुडी जक्शन अगाडि कटिहार रेलवे डिभिजनको रंगपानी क्षेत्रमा भएको हो। कञ्चनजंघा एक्सप्रेस आसामको सिलचरदेखि सियालदहसम्म चल्ने गर्दछ। 

उक्त रेल कोलकत्ता सियालदह जाँदै थियो।  रेललाई बंगालको नयाँ जलपाइगुडी नजिकै रहेको रंगपानी स्टेशनको नजिक एउटा मालबाहक रेलले पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको भारतीय सञ्चारमाध्यम एएनआइले जनाएको छ। 

केन्द्रीय रेलमन्त्री अश्विनी वैष्णवले उद्धार कार्य भइरहेको बताएका छन्। पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीले सामाजिक सञ्जाल एक्समा दार्जिलिङ जिल्लाको फान्सिडेवा क्षेत्रमा भएको रेल दुर्घटनाबाट उनी स्तब्ध भएको बताएकी छन्। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, असार ३, २०८१  १४:१५
Weather Update