News Griha :: न्यूजगृह
सभामुखसँग संसद् सचिवालयका कर्मचारीको वार्ता मिल्यो? 

काठमाडौं— विभिन्न माग राखेर आन्दोलनरत संघीय संसद् सचिवालयका कर्मचारीहरुको माग सम्बोधनका लागि बोलाइएको बैठक सकारात्मक भएको छ।  

केही दिनदेखि सिंहदरबारस्थित कार्यालय बाहिर हातमा पट्टी बाँधेर संसद् सचिवालयका कर्मचारीहरुले विरोध प्रदर्शन गरिरहेका छन्। काम समेत प्रभावित पर्न थालेपछि सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले कर्मचारी युनियनका नेताहरुलार्ई वार्ताका लागि छलफलमा बोलाएका हुन्। 

सोमबार दिउँसो सिंहदरबारस्थित राज्यव्यवस्था समितिको हलमा भएको छलफल सकारात्मक भएको बैठकमा सहभागि एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए। 

त्यस्तै कर्मचारीहरुले उठाएको न्यायोचित मागलाई पूरा गर्नुपर्ने पक्षमा सभामुख लगायत सबै पक्ष रहेको बताए। 

त्यसको लागि बजेट व्यवस्थापनका विषयमा मंगलबार अर्थमन्त्रीसँग छलफल हुने उनले बताए।  

‘कर्मचारीहरूले उठाएको न्यायोचित मागलाई पूरा गर्नुपर्छ। माग पूरा गर्नको सरकारले आवश्यक बजेटको व्यवस्थापन गर्नुपर्नेछ। यो मागबारे सकारात्मक छौँ। भोलि नै अर्थमन्त्रीसँग छलफल गरेर कर्मचारीलाई आन्दोलनको तहमा नपु¥याउने सहमति भएको छ,’ उनले भने। 

त्यस्तै बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले संसद् सञ्चालनका लागि सरकारले आवश्यक रकमको व्यवस्था गर्नपर्ने बताउँदै खर्च मितव्यही बनाउनुपर्नेमा जोड दिए। 

‘संसद सञ्चालन गर्नको लागि सरकारले आवश्यक अर्थको व्यवस्था गर्नुपर्छ । ससद्ले पनि मितव्ययी ढंगले खर्च गर्नुपर्छ,’ उनले भने। 

संघीय संसद् सचिवालय कर्मचारी युनियनले कर्मचारी प्रशासन नियमावली, २०६५ लाई अद्यावधिक गरी अनुसूची १२ मा समयानुकूल परिमार्जन गर्नुपर्ने, अतिरिक्त कामबापतको प्रोत्साहन भत्ता दिइनुपर्ने, कर्मचारी कल्याण कोषलगायत ११ बुँदे माग राखी गत जेठ ३० गतेदेखि आन्दोलन सञ्चालन गर्दै आएको छ। 
     
छलफलमा प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्षसहित उपसभामुख इन्दिरा राना, राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरे, संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय, सचिवालयका सचिव लगायत मुख्य राजनीतिक दलका प्रमुख सचेतकहरुको समेत उपस्थिती रहेको थियो। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, असार ३, २०८१  १४:०५
Weather Update