News Griha :: न्यूजगृह
माओवादीले जितेको वडामा स्वर्णिम वाग्लेलाई ७३ प्रतिशत मत

तनहुँ— तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेलाई आँबुखैरेनी गाउँपालिकामा ७३ प्रतिशत मत प्राप्त भएको छ ।

यस निर्वाचन क्षेत्रमा पर्ने आँबुखैरेनी गाउँपालिकाको वडा नम्बर १ मा रास्वपा उम्मेदवार स्वर्णिम वाग्लेले ७३ प्रतिशत मत प्राप्त गरेका हुन् । जसअनुसार आँबुखैरेनी गाउँपालिकाको वडा नम्बर १ मा एक हजार चार सय ५८ मत खसेको थियो । जसमध्ये रास्वपाका वाग्लेले एक हजार ६५ मत अर्थात् ७३ प्रतिशत मत प्राप्त गरेका छन् ।

कांग्रेसका गोविन्द भट्टराईले दुई सय ६५ र एमालेका सर्वेन्द्र खनालले ५४ मत मात्र पाएका छन् । यो वडामा गत स्थानीय तहको निर्वाचनमा माओवादीले वडाअध्यक्ष जितेको थियो । 

आँबुखैरेनी गाउँपालिका सत्तारुढ दल नेकपा माओवादी केन्द्रको प्रभाव क्षेत्र हो । गत स्थानीय तहको निर्वाचन यो गाउँपालिकामा तीन वटा वडासहित अध्यक्ष र उपाध्यक्ष माओवादीले जितेको थियो । दुई वडा कांग्रेसले जितेको थियो भने एक वडा एमालेले जितेको थियो । 

माओवादीसहितको सत्तारुढ दलको समर्थनमा उम्मेदवार बनेका कांग्रेसका भट्टराईलाई गठबन्धनबाटै मत आउन सकेन । रास्वपा गण्डकीका महामन्त्री अशोक खड्काका अनुसार आँबुखैरेनी पालिकाभर नै  रास्वपा उम्मेदवार वाग्लेलाई ७० प्रतिशत मत घण्टीमा खसेको छ । 

माओवादीको वर्चस्व भएको पालिकामै सत्ता गठबन्धनको उम्मेदवारलाई मत नआउनु भनेको गठबन्धनले काम गरेको देखिँदैन । 

त्यस्तै आँबुखैरेनीको वडा नम्बर २ मा पनि स्वर्णिमले ६३ प्रतिशत मत ल्याएका छन् । एक हजार तीन सय ९२ मत खसेकामा रास्वपाका वाग्लेले आठ सय ८१ मत, कांग्रेसका भट्टराईले तीन सय ३६ मत र एमालेका खनालले एक सय आठ मत पाएका छन् ।

यसैगरी आँबुखैरेनी-३ को मा पनि वाग्लेले ६९ प्रतिशत मत ल्याएका छन् । २१७३ मत खसेको यस वडामा वाग्ले एक्लैले १५१५ मत पाएका छन् भने भट्टराईले ४०१ र खनालले १९१ मत ल्याएका छन् ।

आँबुखैरेनी-४ मा पनि वाग्लेले ४७ प्रतिशत मत ल्याएका छन् । वाग्लेले ६९४ मतमध्ये वाग्लेले ३३२, भट्टराईले २३७ र खनालले ८५ मत ल्याएका छन् ।

यस्तै आँबुखैरेनी-५ मा ६५ मत वाग्लेले लिएका छन् । ५७० मत खसेको यस वडामा वाग्लेले ३७१ मत, भट्टराईले १४९ र खनालले २८ मत ल्याएका छन् ।

यसैगरी आँबुखैरेनी-६ वडामा भने वाग्लेले ३९ प्रतिशत मत पाएका छन् । ७०४ मत खसेको यस वडामा वाग्लेले २८१, भट्टराईले २५९ र खनालले  १३० मत ल्याएका छन् ।

प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  १३:५८
Weather Update