काठमाडौं— नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा उपनिर्वाचनमा पनि ठुला राजनीतिक दलप्रति जनताले चासो नदेखाएको बताएका छन् ।
सोमबार संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकमा सभापति देउवाले उपनिर्वाचनमा पनि ठुला पार्टीप्रति जनताको त्यत्ति चासो नभएको देखिएको बताएका हुन् । देउवाले पार्टीलाई सुधारेर जानुपर्ने आवश्यकता औँल्याएको सांसद रामहरि खतिवडाले बताए ।
उनले पार्टी सभापति देउवाले बैठकमा आगामी वर्षको बजेट कसरी ल्याउने भन्ने बारेमा पनि सांसदहरूसँग चासो राखेको बताए । अहिलेको देशको आर्थिक अवस्था राम्रो नभएको र बजेट ल्याउँदा जनतासँग जोडिने खालका कार्यक्रम राख्नुपर्ने बताएको उनले बताए ।
बैठकमा सांसदहरूले छोटो समय देशको नेतृत्व गरेका बिपीपछि कांग्रेसबाट धेरै नेतृत्व र अर्थमन्त्री बने पनि जनतासँग जोडिने कार्यक्रम ल्याउन नसकेको गुनासो गरेका थिए । सांसदहरूले आगामी बजेटमा जनताका माग कसरी सम्बोधन गर्ने रु पुराना आयोजना सम्पन्न गर्ने र नयाँ आयोजना ल्याउने कुरामा विशेष जोड हुनुपर्ने धारणा राखेको सांसद खतिवडाले बताए ।
'नेपाली कांग्रेस संसदीय दलले अब केही समयपछि आउने बजेटमा सांसदहरूको धारणा के छ ? भन्ने कुराको बारेमा छलफल गरेको छ । पार्टी सभापतिज्यूले अहिले देशको विषम परिस्थिति छ । यसलाई अब कसरी लैजाने ? उपनिर्वाचनले पनि ठुला पार्टीप्रति जनताको त्यत्ति चासो नभएको जस्तो छ भनेर केही कुरा राख्नुभयो', उनले भने, 'अझ पार्टीलाई सुधारेर जानुपर्ने आवश्यकता छ, त्यो सँगै काँग्रेसले बजेट ल्याउँदाखेरि जनतालाई सम्बोधन गर्ने खालका कार्यक्रम आउनुपर्छ, साना साना जनतासँग जोडिने खालका कार्यक्रम आउनुपर्छ । बिपी कोईरालाले छोटो समय देशको नेतृत्व गर्दा जनतासँग जोडिने कार्यक्रम ल्याउनुभयो । अरू बेला काँग्रेसका अर्थमन्त्री धेरै भए, धेरै कार्यक्रम जनताको पक्षमा आएनन् की भन्ने चिन्ताको विषय धेरै सांसदहरूले उठाउनुभएको छ । तर जनताको विकास निर्माणका अपेक्षा धेरै छन् । यसलाई कसरी सम्बोधन गरेर जाने ? भनेर छलफल भएको छ ।'
सोमबारको बैठकमा धेरै सांसदहरूले आफ्नो कुरा राखेको र सबैले बोल्ने क्रम नसकिएकाले मंगलबार १० बजे पुनः बैठक बसेर छलफल गर्ने सांसद खतिवडाले बताए । उनले भने, 'आगामी बजेटमा जनताका माग र कुरा कसरी सम्बोधन गर्ने, आयोजना पुराना कसरी सक्ने र नयाँ योजना कसरी थप्ने भन्ने बारेमा नै छलफल भयो । प्रत्येक निर्वाचन क्षेत्रमा देखिने योजनाहरू, कार्यक्रम आओस्, स्थानीय तहको कार्यालयमा जाने बाटोहरू कालोपत्रेको व्यवस्था होस्, सहरीकरण, खानेपानी र स्वास्थ्यको व्यवस्था होस् ।'
सांसद खतिवडाले सांसदहरूले आगामी बजेटमा प्रत्येक निर्वाचन क्षेत्रमा थोरैमा एउटा नागरिकले देख्ने योजना, स्थानीय तहको कार्यालयमा जाने बाटोहरू कालोपत्रे गर्ने र व्यवस्थित सहर, स्वास्थ्य र शिक्षा हरेक तहमा
पुग्नुपर्ने गरी बजेट ल्याउनुपर्नेमा जोड दिएको बताए ।