News Griha :: न्यूजगृह
बर्लिनमा राष्ट्रपति पौडेलको स्वागत

काठमाडौं— जर्मनीको भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेलको सम्मानमा जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासले आइतबार विशेष  स्वागत समारोह आयोजना गरेको छ। 

राष्ट्रपति पौडेलको  सम्मानमा आयोजित समारोहमा प्रथम महिला सविता पौडेल, भ्रमण दलका सदस्य र जर्मनस्थित  नेपालीको  सहभागिता थियो।  सो अवसरमा राष्ट्रपति पौडेलले एक पटकको नेपाली सधैँको नेपाली रहेको धारणा व्यक्त  गर्दै संसारमा जहाँ रहे पनि आफ्नो माटो र मातृभूमिलाई कहिल्यै नबिर्सन आग्रह गरे। 

'जहाँ रहे पनि आफूले सिकेको ज्ञान, सीप र प्रविधिको प्रयाेगबाट नेपालको आर्थिक विकासमा योगदान पुर्‍याउन म सबै नेपालीलाई हार्दिक आह्वान गर्दछु.' राष्ट्रपति पौडेलले भने। उनले आफूले अन्तर्राष्ट्रिय श्रम संगठनको सम्मेलनलाई सम्बोधन गर्दै श्रम र सामाजिक न्यायको सम्मानका लागि विश्व समुदायलाई अपिल गरेको स्मरण गरे। उनले जलवायु परिवर्तनले पारेको असर न्यूनिकरण गर्नु आजको विश्वको साझा चुनौति रहेको बताउँदै खासगरी यसका कारक नरहेका विकासशील देशहरूलाई विकसित देशहरूले असर न्यूनीकरणमा सघाउनु पर्नेमा जोड दिए।

सो अवसरमा राष्ट्रपति पौडेललाई  जर्मनका लागि नेपालका राजदूत  रामकाजी खड्का तथा जर्मनीस्थित नेपालीहरूले स्वागत गरेका थिए। जर्मनमा रहेको गैरआवासीय नेपाली संघका तर्फका राष्ट्रपति पौडेललाई अभिनन्दन गरिएको थियो।

राष्ट्रपति रामचन्द्र पौडेलले यसअघि आइतबार दिउँसो  जर्मनीका जलवायु परिवर्तनका क्षेत्रमा  विज्ञान प्रविधि तथा अनुसन्धान गर्दै आइरहेका संस्थाहरूको अवलोकन गरेका थिए। राष्ट्रपति पौडेल स्विट्जरल्याण्डको भ्रमण सकेर शनिबार राति जर्मनीको राजधानी बर्लिन पुगेका हुन्।

जर्मनी राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा  राष्ट्रपति पौडेल स्विट्जरल्याण्डको भ्रमण सकेर शनिबार राति जर्मनीको राजधानी बर्लिन पुगेका हुन्। राष्ट्रपति पौडेल र उनका समकक्षी सङ्घीय गणतन्त्र जर्मनीका राष्ट्रपति डा फ्रयाङ्क वाल्टर स्टाइनमेयरबीच सोमबार भेटवार्ता हुने कार्यक्रम छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, असार ३, २०८१  ०७:४१
Weather Update