
काठमाडौं— त्रिभुवन विश्वविद्यालय (त्रिवि) का क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मौन अवधि सुरु भएको छ । स्ववियु निर्वाचन आचारसंहिता अनुसार गएराति १२ बजेदेखि मौन अवधि सुरु भएको हो ।
निर्वाचन हुनुभन्दा ४८ घण्टा अगाडि प्रचार–प्रसार बन्द गरिने प्रावधान अनुरुप उक्त निर्देशन जारी गरिएको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिए ।
स्ववियु निर्वाचन आचारसंहितामा प्रचार–प्रसार गर्न रङरोगन र कुनै पनि प्रकारको पोष्टर टाँस्न नपाइने उल्लेख गरिएको छ ।
अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने छन् ।
स्ववियु निर्वाचनका लागि ६२ आंगिक र एक हजार ४० क्याम्पसमा पर्सी आइतबार बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुनेछ ।













