News Griha :: न्यूजगृह
‘माओवादी समाप्त हुँदैछ, अर्थमन्त्रीले पार्टी जोगाउनेगरी बजेट ल्याए’  

काठमाडौं— स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले आगामी आर्थिक वर्षको बजेट माओवादी केन्द्रलाई ध्यानमा राखेर ल्याइएको आरोप लगाएका छन्। 

आइतबार विनियोजन विधेयकमाथिको छलफलका क्रममा बोल्दै सांसद सिंहले केही व्यापारीहरुले अर्थमन्त्रीलाई प्रभावमा पारेर बजेट बनाएको र समग्र सांसदहरुका लागि त्यसले उचित कार्यक्रम नदिएको आरोप लगाए। 

उनले सरकारको नेतृत्व गरिरहेको दल माओवादी केन्द्रको अस्तृत्व नै समाप्त हुने क्रममा रहेको भन्दै अहिलेको बजेटबाट माओवादी सांसदहरुले जित्ने ठाउँमा बजेट हालिएको भन्दै कटाक्ष गरे।
 
‘यो बजेट केही व्यापारीले बनाए अर्थमन्त्रीजीको इन्ट्रेसमा। यो बजेट माओवादी पार्टीका ३२ जना सांसदका लागि मात्र बनेको बजेट हो, यो २७५ सांसदका लागि बनेको बजेट होइन। यदी त्यो कसैले हो भन्छ भने, त्यो दिवा सपना मात्रै हो,’ उनले भने,  ‘किनकी माओवादी पार्टी समाप्त हुने अन्तिम संघारमा छ। अन्तिम संघारमा भएका कारण माओवादीले आ–आफ्ना सांसदहरु कहाँ कहाँ जित्न सक्छन् त्यहाँ मात्र बजेट खनाइएको छ। हामी जस्ता निर्धा सांसदलाई उहाँहरुले देख्नुहुन्न। किनभने अर्थमन्त्रीको मैले चाकडी गरिन्, उहाँको मन्त्रालय गएको छैन, कोठा कता हो?’ 

त्यसैगरी उनले त्यसअघि बोलेका कांग्रेसका रामहरि खतिवडाले सत्तापक्षका सांसदहरुको क्षेत्रमा १५ करोड र प्रतिपक्षका सांसदहरुलाई ५ करोडका आयोजना दिइएको भन्ने विषयमा समेत खण्डन गरे। उनले सत्ता पक्षका पनि मन्त्रीको चाकडी गर्ने सांसदहरुको निर्वाचन क्षेत्रमा मात्रै बजेटका योजना हालिएको आरोप लगाए। 

साथै आफ्नो निर्वाचन क्षेत्रमा कर्मचारी अभावमा विभिन्न क्षेत्रमा समस्या परिरहेकोतर्फ सरकारको ध्यानाकर्षण गराए।   

प्रकाशित मिति: आइतबार, असार २, २०८१  १२:००
Weather Update