News Griha :: न्यूजगृह
कुरिलो खेतीबाट एकै याममा सात लाख मुनाफा

त्रिवेणी (नवलपरासी)— नवलपुरका पदमबहादुर मोक्तानले कुरिलो खेतीबाट एकै याममा सात लाख रुपैयाँ मुनाफा आर्जन गरेका छन्।    

मध्यविन्दु नगरपालिका–३ ब्रह्मस्थानमा तीन वर्षदेखि कुरिलो खेती गरिरहेका मोक्तानले वार्षिक १६ लाखसम्मको कुरिलो बिक्री गर्छन् । सबै खर्च कटाएर ७ लाख नाफा कमाएको उनले बताए। 

उनले ५० कठ्ठामा कुरिलो खेती गरेका छन्। ‘यो कुरिलोको सिजन हो, टिप्ने, मुठा पार्ने बजार र पठाउने काममा व्यस्त भइन्छ,’ उनले भने। दैनिक ८० देखि एक सय केजीसम्म कुरिलो उत्पादन हुने गरेको उनले बताए। मोक्तानले उत्पादन गरेको कुरिलो स्थानीय बजारका साथै नारायणगढ, पोखरा र काठमाडौंमा खपत हुने गरेको छ।

गत वर्ष तीस कठ्ठा क्षेत्रफलमा कुरिलो खेती गरेका मोक्तानले यस वर्ष २० कठ्ठा क्षेत्रफलमा थपेका हुन्। गत वर्षभन्दा यो वर्ष अधिक  आम्दानी हुने उनी बताउँछन्। हाल कुरिलोको खुद्रा बजार मूल्य प्रतिकेजी तीन सय रुपैयाँ छ र थोकमा मूल्य दुई सय ५० छ। 

उनले जग्गा भाडामा लिएर तरकारी खेती गरेका हुन्। उनी पाँच वर्षदेखि व्यावसायिक खेतीमा छन्। उनको बारीमा  कुरिलोसँगै घिरौला, भिण्डी, करेला, खरबुजा लटरम्म फलेका छन्। आफ्ना अन्य उत्पादनले भन्दा कुरिलो खेतीबाट अधिक आम्दानी हुने गरेको उनी बताउँछन्।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, असार २, २०८१  ०९:२४
Weather Update