सम्बन्धविच्छेद गराइदिएको भन्दै पाकिस्तानमा प्रहरीले गरे दुई वकिलको हत्या
काठमाडौं— पाकिस्तानमा एक जना प्रहरीले दुई जना वकिलको हत्या गरेका छन्। ती प्रहरीले गोली हानी दुई जना वकिलको हत्या गरेका हुन्।
गोली प्रहारबाट जिल्ला बार अटकका पूर्वअध्यक्ष इसरार अहमद र जुलिफिकार मिर्जाको मृत्यु भएको पाकिस्तानका सञ्चारमाध्यमले जनाएका छन्।
मिडिया रिपोर्टहरुका अनुसार शनिबार विशेष बलका एक एएसआईले व्यक्तिगत दुश्मनीलाई आधार बनाएर दुई वकिलको गोली हानी हत्या गरेका हुन्। एएसआई इन्तजार शाहले आफ्नी श्रीमतीसँग सम्बन्धविच्छेद हुनुमा वकिलहरूको भूमिका रहेको भन्दै गोली हानी उनीहरूको हत्या गरेका हुन्।
हत्या घटनापछि अटकका प्रहरी प्रमुख सरदार घियास गुल खानले तत्काल कारबाही अघि बढाएका छन्। एएसआई इन्तजार शाह हिरासतमा छन् भने घटनाबारे अनुसन्धान अघि बढाइएको छ।
प्रकाशित मिति: आइतबार, असार २, २०८१ ०९:११