News Griha :: न्यूजगृह
राष्ट्रपति पौडेल बर्लिनमा, भोलि जर्मनीका राष्ट्रपतिसँग औपचारिक भेटवार्ता
फाइल तस्बिर।

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेल जर्मनीको औपचारिक भ्रमणका क्रममा जेनेभाबाट बर्लिन पुगेका छन्। उनी आफ्ना समकक्षी डा फ्रयाङ्क –वाल्टर स्टीनमेयरको निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमणमा गएका हुन्। 

राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डललाई शनिबार अपरान्ह बर्लिन ब्रान्डेनवर्ग अन्तर्राष्ट्रिय विमानस्थलमा जर्मनीका लागि नेपालका राजदूत रामकाजी खड्काले  स्वागत गरेका हुन्।

राष्ट्रपति पौडेलका साथ प्रथम महिला सविता पौडेल, राष्ट्रपतिका परराष्ट्र मामिलाविज्ञ डा सुरेशचन्द्र चालिसे,  परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, राष्ट्रपतिको कार्यालयका सचिव डिल्लीराम शर्मा तथा राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू छन्। 

राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपतिबीच सोमबार औपचारिक भेटवार्ताको कार्यक्रम रहेको उक्त दूतावासले जनाएको छ।

२०४३ सालपछि राष्ट्रप्रमुखको तहमा नेपालबाट भएको यो पहिलो भ्रमण हो। नेपाल  र जर्मनीबीच २०१४ साल चैत २२ गते कूटनीतिक सम्बन्ध स्थापना भएको हो। त्यसयता दुई देशबीचको सम्बन्ध  आपसी समझदारी र सहयोगका आधारमा प्रगाढ बन्दै गएको छ। राष्ट्रपति पौडेल यही असार ५ गते स्वदेश फर्कन कार्यक्रम छ।

प्रकाशित मिति: आइतबार, असार २, २०८१  ०६:४५
Weather Update