News Griha :: न्यूजगृह
रौतहटमा युवकको शव भेटियो, हत्याको आशंका

रौतहट — रौतहटको गौर नगरक्षेत्रस्थित केराबारीमा शनिबार अपरान्ह एक युवकको शव भेटिएको छ। गौर-४ टिकुलिया बकैया खोलाको बाँध नजिकै २० वर्षीय रोहित सहनीको शव भेटिएको हो।

शौच गर्न निस्किएका रोहितको शव घर नजिकैको केराबारीमा फेला परेको जिल्ला प्रहरी प्रवक्ता एलिजा गिरीले बताइन्।  गिरीले मृतक सहनीको शरीरमा कुनै प्रकारको दाग तथा कुटपिटको चिन्ह नदेखिएको बताएकी छन्।

मृतकको पाकेटबाट लागुऔषध गाँजा बरामद भएको छ । गाँजाको नशामा गर्मीको कारण बेहोस भएर पानीको कमीको कारण पनि मृत्यु हुनसक्ने अनुमान गरिएको छ । मृतकको नाकबाट रगत बगेको देखिन्छ।

शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाइएको छ। सहनीको कसैले हत्या गरेको हो वा होइन अनुसन्धान तथा पोस्टमार्टम रिपोर्टपछि मात्र खुल्ने डीएसपी गिरीले बताइन् ।

उता मृतकका दाजु सञ्जयले रोहितको हत्या भएको दाबी गरेका छन्।  

प्रकाशित मिति: शनिबार, असार १, २०८१  २१:१४
Weather Update