
काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटबारे फेरि असन्तुष्टि व्यक्त गरेका छन्।
शनिबार बसेको संसदीय दलको बैठकमा सम्बोधन गर्दै ओलीले उनले बजेटबारे असन्तुष्टि जनाउदै बजेट बारे अलिक खुला छलफल गर्न सांसदहरूलाई निर्देशन दिएका हुन्।
उनले भने, ‘यो बजेटमा एकदुई जनाको मुख हेरेर, अनि हामी सरकारमा छौं भन्दैमा अनि गरिबतिर देश गएपनि के भयो र? हामी सरकारमा छँदैछौं भनेर हुन्छ? त्यही चिज हुँदैन भने अनि सन्तोष कसरी मान्ने? हामीले नै चलाइरहेको मन्त्रालयको कस्तो छ स्थिति रु त्यसमा कस्तो छ बजेटको विनियोजन ? त्यो पनि अलिकति हेर्नुपर्ने हुन्छ।’
उनले आफूहरू स्वार्थको थैलो भर्नको लागि सत्तामा नभएको पनि जिकिर गरे।
उनले अर्को प्रसङ्गमा प्रतिक्रियावादीहरूले पार्टीको बारेमा नयाँ नयाँ हमला गरेको र अकल्पनिक कुरा सिर्जना गरेको आरोप लगाए।
उनले भने, ‘आज बिहानमात्रै मैले एउटा मिडियामा देखेको थिएँ, केपी ओलीले ५ अर्ब खाइसक्यो, निलिसक्यो कि मुखमा मात्रै हाल्या छ कि? तर, ५ अर्ब केपी ओलीले खायो, खाने भयो भनेर।’
ओलीले भ्रमको जालो फिजाएर एमालेप्रतिको विश्वास कसरी हटाउन सकिन्छ भनेर एकथरी लागिरहेको बताए ।