
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टीले नेतृत्व गरेको चार मन्त्रालय बेथितिमुक्त रहेको दाबी गरेका छन्।
शनिबार रास्वपाको दोस्रो स्थापना वर्षका अवसरमा आयोजित समारोहमा उनले रास्वपाको नेतृत्व गरेपछि बेअर्थमा बजेट फाल्ने र मान्छे पाल्ने काम बन्द गरेको दाबी गर्दै केही खराब नगरीकन उनले सरकारमा बस्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
उनले भने, ‘हामी सहभागी भएको चार मन्त्रालयमा हामी नगएको भए अरु कोही गएर बेथिति फैलाउने काम गर्ने थियो होला, कम्तीमा हामीले त्यो चार मन्त्रालयमा भएपनि बेथिति रोक्ने काम त पर्यौँ। हाम्रो नेतृत्व पश्चात बेअर्थमा बजेट फाल्ने र मान्छे पाल्ने काम हामीले बन्द गरेका छौं, यो गर्व गर्ने विषय हो। नेपाली जनतालाई लुट्ने काम पनि रोकिएको छ। केही खराब नगरीकन हामी सरकारमा छौं।’
सय दिन सरकारमा बसेर एउटा आधार तयार गरेका भन्दै आधारको जगमा टेकेर आगामी दिनहरूमा असल कार्यहरूलाई निरन्तरता दिने कोसिस गर्ने उनको भनाई छ। उनले सरुवा बढुवाको काम वैज्ञानिक तरिकाले नै भएको भन्दै त्यसपछि आउने पुस्ताको प्रहरी र सङ्गठनले कुनै नेताको हात होइन, भ्रष्टाचारी समाउने बताए।
उनले भने, ‘गृह मन्त्रालयमा एक रुपैयाँ पनि कसैले सोच्ने अवसर दिएको छैन। हरेक मान्छेलाई वैज्ञानिक तरिकाले सारिएको छ। संगठनको इज्जत राख्ने तरिकाले काम भएको छ। सरुवा बढुवालाई अटोमेसनमा लिएर जानको लागि समिति बनेको छ। अब त्यो समितिले दिएको प्रतिवेदनको आधारमा काम हुनेछ र प्रहरीलाई देशको प्रहरी बनाउने छौं। अब आउने पुस्ताको प्रहरीले हामीले सुधार गर्दै लगेको सङ्गठनले कुनै नेताको हात होइन, भ्रष्टाचारी समाउने छ।’
उनले एउटा चुनाव, कार्यकाल र पदका लागि होइन, लामो यात्राको लागि जोडिएको भन्दै विचलित नभइ अगाडि बढ्नु पर्ने पनि बताए। यस्तै लामिछानेले मन्त्री बन्नका लागि सरकारमा नगएको चर्चा गरे।
‘हामी धेरै तामझाममा विश्वास गर्दैनौँ, हामी आम जनताबाट निस्किएका मान्छे हौं। हामी कुनै अर्को ग्रहबाट आएका होइनौँ, हामी तपाईँहरूकै बीचमा नै छौं र कुनैपनि बेला हामी त्यही ठाउँमा पुग्न पनि सक्छौँ। मन्त्रीको पद कुनै ठूलो कुरा होइन। हामी एउटा उद्देश्य बोकेर गएका छौं, केही गर्न सकिन्छ भन्ने आँटका साथ गएका छौं’ लामिछानेले भने।