News Griha :: न्यूजगृह
शिक्षण पेसा छाडेर व्यावसायिक तरकारी खेतीमा रमाइरहेकी मायादेवी

भोजपुर—भोजपुरको टेम्केमैयुङ गाउँपालिका–४ नागी घोरालुङ चारघरेकी उद्यमशील एकल महिला मायादेवी राई व्यावसायिक तरकारी खेतीमा लागेर उदाहरणीय बनेकी छन्।

दुई वर्षअघिबाट व्यावसायिक तरकारी खेतीमा लागेकी उनले दुई रोपनी क्षेत्रफलमा व्यावसायिक रुपमा तरकारी खेती गिररहेकी छन्। उनी पशुपन्छी तथा मत्स्यपालन फार्म नै दर्ता गरेर व्यावसायिक तरकारी खेतीमा जुटेकी हुन्। 

उनले बन्दाकोभी, काउली, ब्रो काउली, टमाटर, क्याप्सिकम, इक्वास प्याजलगायतको व्यावसायिक खेती गर्दै आएकी छन्। गाउँघरमा पाइने गाई, भैँसी, बाख्रा बङ्गुरलगायतको प्राङ्गारिक मलको मात्र प्रयोग गरेर जैविक उत्पादन गर्दै आएको राईले बताइन्।

'मैले दुई वर्षअघिबाट व्यावसायिक रुपमा जैविक तरकारी उत्पादन गरिरहेकी छु,' उनले भनिन्, 'यहाँ उत्पादन भएको तरकारी स्थानीय बजारमा लगेर बिक्री गर्छु। आफूले गरेको मेहनतले घरखर्च चलाउन समस्या छैन। तरकारी खेतीलाई थप विस्तार गरेर वार्षिक चारदेखि पाँच लाखसम्म आम्दानी गर्ने सोचका साथ काम गरिरहेकी छु।'

विगतमा शिक्षण पेसामा रहेको भए पनि यसलाई छाडेर व्यावसायिक रुपमा तरकारी खेतीमा लागेको राईको भनाइ छ। मेहनत गर्नसकेमा कृषि कर्मबाट पनि राम्रो आम्दानी गर्न सकिने उनले बताइन्।

उत्पादन भएको कृषिउपजको बजारीकरणमा भने समस्या रहेको उनले बताइन्। राज्यको तर्फबाट आवश्यक सहयोगसँगै बजारीकरणमा ध्यान दिए धेरै किसानलाई राहत मिल्ने राईको भनाइ छ। कृषिमा नै भविष्य देखेर व्यावसायिक रुपमा लागेका कृषकलाई राज्यले प्राथमिकता दिनुपर्ने उनले बताइन्। 

टेम्केमैयुङ गाउँपालिकामा कृषिको राम्रो सम्भावना रहेकाले कृषि र पर्यटनलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको गाउँपालिकाका उपाध्यक्ष रमादेवी राई बताउँछन्। किसानलाई मौरीपालन, जडीबुटी खेती, सुन्तला, कागती खेतीलगायतमा व्यावसायिक बन्न गाउँपालिकाले आवश्यक सहयोग गरिरहेको उनको भनाइ छ।

कृषकको व्यावसायिक योजनाको आधारमा गाउँपालिकाले भावी दिनमा पनि प्रोत्साहनको कार्यक्रम सञ्चालन गर्ने उपाध्यक्ष राईको भनाइ छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, असार १, २०८१  १२:१५
Weather Update