काठमाडौं— नरेन्द्र मोदी भारतीय प्रधानमन्त्रीको तेस्रो कार्यकालको शपथ लिएको केही दिनमै इटाली पुगेपछि अहिले उनको विदेश भ्रमण मोहको चर्चा भइरहेको छ।
मोदीले आफ्नो पछिल्लो दुई कार्यकालमा आफ्नो पहिलो भ्रमणका लागि सधैँ छिमेकी मुलुक रोजेका थिए। २०१४ मा पहिलो पटक प्रधानमन्त्री भएपछि उनी विदेश भ्रमणमा नेपाल आएका थिए।
दोस्रो पटक प्रधानमन्त्री भएपछि उनी पहिलो भ्रमणमा माल्दिभ्स गएका थिए। यसपटक उनले पश्चिमी देश इटाली रोजे। इटालीपछि मोदी नेपाल भ्रमणमा आउने चर्चा रहेको छ।
मोदीले आफ्नो १० वर्षे कार्यकालमा सन् २०१५ मा पाकिस्तान भ्रमण होस् वा २०१९ मा सी जिनपिङलाई भारत निम्तो होस्, मोदीले हरेक कार्यकालमा आफ्नो विदेश नीतिले ‘सरप्राइज’ दिने गरेका छन्।
पूर्वराजदूत अशोक सज्जनहरका अनुसार २०१४ मा नरेन्द्र मोदी पहिलो पटक प्रधानमन्त्री हुँदा विदेश नीति नै उनको शक्तिको कमजोर कडी हुने विश्वास गरिएको थियो। तर, त्यस्तो भएन। ‘नेबरहुड फर्स्ट’ नीति र रुस–युक्रेन युद्धमा सरकारको बलियो अडानले मोदीलाई विदेश मामिलामा धेरै हदसम्म राम्रो नेता बनायो।
सन् २०१४ मा शपथ लिएपछि उनी नेपाल भ्रमणमा निस्किएका थिए। छिमेकी मुलुक भए पनि १७ वर्षदेखि भारतका कुनै पनि प्रधानमन्त्रीले यहाँ भ्रमण गरेका थिएनन्। मोदीले खाडी मुलुकसँगको सम्बन्धलाई पनि मजबुत बनाएका छन्। उनी ३० वर्षपछि यूएई जाने पहिलो भारतीय प्रधानमन्त्री बनेका छन्।
मोदीले आफ्नो पहिलो कार्यकालमा ५ पटक चीनको भ्रमण गरे। उनी सबैभन्दा धेरै पटक चीन भ्रमण गर्ने भारतीय प्रधानमन्त्री हुन्। यसका बावजुद चीनले २०२० मा गलवानमा दुई देशका सेनाको लडाइले सम्बन्ध धेरै हदसम्म बिगार्यो।
मोदीले आफ्नो १० बर्षे कार्यकालमा कुल १३५ पटक विदेश भ्रमणमा गएका छन्। जसमा ६६ देश पुगेका छन्। जबकी मनमोहन सिंहले आफ्नो १० बर्षे कार्यकालमा ९४ पटक मात्र विदेश भ्रमण गएका थिए भने ४३ देश पुगेका थिए।
मोदीले १० वर्षमा ८ पटक अमेरिका भ्रमण गरेका छन् भने ५ पटक रुस पुगेका छन्। त्यस्तै मोदी आफ्नो पहिलो कार्यकालमा ५ पटक चीन पुगेपनि दोस्रो कार्यकालमा चीन भ्रमण नै गरेनन्। मोदीको १० वर्षे कार्यकालमा चिनियाँ राष्ट्रपति सी जिनपिङ २०१४, २०१६ र २०१९ मा गरी तीन पटक भारत पुगेका थिए।
त्यस्तै मोदी १० वर्षमा पाँच पटक नेपाल आएका छन्। उनी २०१४, २०१६, २०१८ मा दुई पटक र २०२२ मा नेपाल आएका थिए।
त्यस्तै बंगलादेश २ पटक, म्यान्मार २ पटक र भुटान २ पटक पुगेका छन्। मोदीले आफ्नो दुई कार्यकालमा श्रीलंका तीन पटक र माल्दिभ्स २ पटक पुगेका छन्।
त्यसैगरी अफगानिस्तान २ पटक र पाकिस्तान एक पटक पुगेका छन्। मोदी तेस्रो कार्यकालको पहिलो भ्रमण इटाली रोज्नुको सबैभन्दा ठूलो कारण जी–७ शिखर सम्मेलन हो।
मोदीको तेस्रो कार्यकालमा भारतको चीन, क्यानडालगायतका देशहरूसँगको तनाव मोदीका लागि चुनौती पूर्ण रहेको विश्लेषण गरिएको छ।