News Griha :: न्यूजगृह
उमेर नै नपुगेका व्यक्तिलाई वृद्धाभत्ता दिन नागरिकता किर्ते, वडाध्यक्षसहित ७ जनाविरुद्ध मुद्दा 

काठमाडौं— उमेर नै नपुगेको व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता (वृद्धाभत्ता) प्राप्त गर्ने लाभग्राही सूचीमा राखेको आरोपमा वडाध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।  

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मोरङको रतुवामाइ नगरपालिका–६ का वडाध्यक्ष तुलाराम लुइँटेलसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। 

जसमा वडाध्यक्ष लुइँटेलसहित तत्कालीन वडासचिव कल्पना बास्कोटा, ईलाका प्रशासन कार्यालय रंगेली, मोरङका तत्कालीन प्रशासकीय अधिकृत सुनिल पौडेल र सोही कार्यालयका तत्कालीन नासु रमेश कोइराला तथा रतुवामाई—६ का मेगदिप पोखरेल, तारा देवी पोखरेल र भक्त कुमारी लुइँटेल रहेका छन्।  

वडाध्यक्ष लुइँटेलको मिलेमतोमा नागरिकताको  विवरण किर्ते गरी सामाजिक सुरक्षा भत्ता वितरण गरेको भन्ने उजुरी परेको थियो।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार  अनुसन्धानका क्रममा वडाध्यक्षको मिलेमतोमा उमेर नै नपुगेका व्यक्तिहरूलाई उमेर सच्याएर सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको सूचीमा राखिएको थियो। 

त्यस्तै उमेर बढाउन नागरिकताको प्रतिलिपि लिनका लागि वडाले जन्ममिति परिवर्तन गरेर सिफारिस समेत गरेको समेत अख्तियारले भेटेको छ। वडाले उमेर बढाइएको नागरिकताको प्रतिलिपि दिन लेखेको सिफारिस इलाका प्रशासन कार्यालयले विवरणहरू जाँच नै नगरी प्रतिलिपि दिएको भेटिएको प्रवक्ता घिमिरेले जानकारी दिए।  

अख्तियारका अनुसार वडाध्यक्ष लुइँटेलविरूद्ध १ लाख ६० हजार रूपैयाँ, वडासचिव बास्कोटाविरूद्ध १ लाख ४४ हजार रूपैयाँ मागदाबी गरिएको छ। साथै मेगदीप र तारादेवी विरूद्ध १ लाख ४४ हजार र कुमारी लुइँटेलविरूद्ध १६ हजार रूपैयाँ बिगो दाबी गरिएको अख्तियारले जनाएको छ। 

प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  १७:३६
Weather Update