News Griha :: न्यूजगृह
गण्डकीमा ‘फ्लोर क्रस’ गरेका देवकोटालाई माओवादीले गर्‍यो कारबाही 

काठमाडौं— गण्डकी प्रदेशमा फ्लोर क्रस गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका फणीन्द्र देवकोटालाई माओवादी केन्द्रले कारबाही प्रक्रिया अघि बढाएको छ। 

नेपाल समाजवादी पार्टी (नेसपा) का देवकोटा गत निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचित भएका हुन्। 

मुख्यमन्त्री पाण्डेलाई माओवादी केन्द्रले विश्वासको मत नदिने ह्वीप जारी गरेकोमा देवकोटाले भने ह्वीप उल्लंघन गर्दै विश्वासको मत दिएपछि माओवादीले कारबाही प्रक्रिया अघि बढाएको हो। आज नै माओवादी केन्द्रले देवकोटालाई कारबाही गरिएको पत्र प्रदेश सभा सचिवालयमा दर्ता गराएको माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमानले न्यूजगृहलाई जानकारी दिए। 

‘उहाँले दलीय ह्वीप उल्लंघन गरेका कारण कारबाही प्रक्रिया अघि बढाएका छौँ,’ उनले भने, ‘हामीले आज नै प्रदेश सभा सचिवालयमा उहाँलाई कारबाही गरिएको पत्र दर्ता गराएका छौँ।’ 

त्यसो त माओवादीले उनलाई स्पष्टीकरण समेत सोधेको थियो। तर स्पष्टीकरणमा चित्तबुझ्दो जवाफ नआएको र उनले दलीय ह्वीप उल्लंघन गरेको देखिएको भन्दै माओवादीले कारबाही गरेको हो।  

‘उहाँले पठाउनुभएको स्पष्टीकरण हेर्दा चित्त बुझ्दो देखिएन। संविधान अनुसार नै उहाँले दलीय ह्वीप उल्लंघन गरेको देखिएकाले हामीले कारबाही प्रक्रिया अघि बढाएका हौँ,’ चुमानले भने।  

आज केहीबेरमा प्रदेश सभाको दोस्रो बैठक बस्ने र उक्त बैठकमा कारबाहीको पत्र पढेर सुनाउन सक्ने उनले बताए। 

मुख्यमन्त्रीलाई विश्वासको मत दिएका देवकोटा अहिले प्रदेशको उर्जा जलस्रोत तथा खानेपानी मन्त्री समेत बनिसकेका छन्।  यता उनको दल डा. बाबुराम भट्टराई नेतृत्वको नेसपाले भने आफूहरुले विधान अनुसार नै अघि बढेको दाबी गर्दै आइरहेको छ।  

प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  १६:२९
Weather Update