News Griha :: न्यूजगृह
पृथकतावादी आन्दोलन र अमृतपाल सिंह 
BBC Hindi

काठमाडौं— पृथकतावादी समूहका नेता अमृतपाल सिंह आइतबार पञ्जाबको मोगाबाट पक्राउ परे ।

विदेश भागेको आशंकाबीच अन्ततः पञ्जाब प्रहरीले उनलाई पक्राउ गरेको हो । अमृतपाल नेपालमा रहेको विश्लेषण भारतीय प्रहरीको थियो । 

३७ दिनदेखि फरार ‘वारिस पञ्जाब दे’ सङ्गठनका प्रमुख तथा खालिस्तान समर्थक अमृतपाल असमको डिब्रुगढ जेलमा राखिएको छ । पञ्जाबलाई छुट्टै राज्यको माग गर्दै आन्दोलन गरिरहेको उक्त समूहले पछिल्लो समय भारतमा तहल्का मचाइरहेको छ । 

अमृतपालको गिरफ्तारीसँगै सयौँ खालिस्तान समर्थकले सडकमा तरबार बोकेर विरोध गरिरहेका छन् । उनीहरूले अमृतपालको रिहाइको माग माग गरेका हुन्  । 

बीबीसी हिन्दीका सहयोगी पत्रकार रविन्द्र सिंह रोबिनकाअनुसार अमृतपाल सिंहलाई मोगाकोरोडे गाउँबाट पक्राउ गरिएको हो । सन् १९८० को दशकमा जर्नेल सिंह भिन्द्रनवाले उक्त गाउँमा बस्थे । अमृतपाल सोही गाउँबाट ‘वारिस पञ्जाब दे’ नामक संस्थाको प्रमुख बने । जसको उद्देश्य सिखहरूका लागि छुट्टै देश खालिस्तान (शुद्धजमिन) को माग गर्नु रहेको थियो ।  

२९ सेप्टेम्बर २०२२ मा, ‘वारिस पञ्जाब दे’ संगठनको पहिलो वार्षिकोत्सवमा, मोगा जिल्लाको रोडे गाउँमा एक ठूलो कार्यक्रम आयोजना भएको थियो । उक्त कार्यक्रममा अमृतपाल संस्थाको प्रमुख नियुक्त भए । उक्त स्थलको छनोट धेरै रणनीतिक थियो, किनकि यो जर्नेल सिंह भिन्द्रनवालेको मूल गाउँ रहेको आजतकले जनाएको छ ।

भिन्द्रनवाले जस्तै अमृतपालले पनि सो कार्यक्रममा नीलो रङको पगडी लगाए । आफ्नो सेतो लुगामा एउटा सानो कृपाण बोकेर भड्काउने भाषण दिए । यसले कट्टरपन्थी सिख युवामाझ अमृतपाललाई चर्चामा ल्यायो । पञ्जाबमा उनलाई जर्नेल सिंह भिन्द्रनवाले–२.० को नामलेसमेत चिनिन्छ । 

अमृतपालले भने प्रहरीले आफूविरुद्ध झूटा मुद्दा लगाएको बताएका छन् । पक्राउपछि पञ्जाब प्रहरीले उनलाई सम्बोधन गर्न दिएको थियो । उक्त भिडिओ सामाजिक सञ्जालमा भाइरल छ । 

अकाल तख्तका पूर्व जत्थेदार(सिख धर्मको ओहदा) तथा जर्नेल सिंह भिन्द्रनवालेका भतिजा जसवीर सिंह रोडेलेअमृतपाल सिंहको गिरफ्तारीपछि बीबीसीसँग कुरा गर्दै भनेका छन्, ‘शनिबार राति प्रहरीले मलाई अमृतपाल सिंह रोडे गाउँबाट गिरफ्तार हुन चाहेको बताए ।’ यसैको लागि आफू रोडे गाउँ पुगेको उनले बताए । तर जसवीरलेअमृतपाल सिंह आफूसँग पहिले सम्पर्कमा नरहेको दाबी गरेका छन् ।  

१८ मार्चमा ‘अजनाला प्रहरी चौकी घेराबन्दी’ को सम्बन्धमा जालन्धरको शाहकोट–मल्सियाँ सडकमा अमृतपाल र उनका सहयोगीहरूलाई प्रहरीले पक्राउ गर्न खोजे पनि नाका तोडेर फरार भएका थिए । 

अमृतपालका ८ जना सहयोगी अझै पनि असमको डिब्रुगढ जेलमा छन् । उनीहरूमाथि राष्ट्रिय सुरक्षा ऐन (एनएसए )लगाइएको छ । अमृतपाल सिंहविरुद्ध एनएसए सहित १६ मुद्दा दर्ता छन् । समाजमा दुस्मनी फैलाउने, ज्यान मार्ने उद्योग, प्रहरीमाथि हातपात र सरकारी काममा अवरोध गरेको लगायतका मुद्दा उनीहरूमाथि लगाइएको छ । 

अमृतपाल मिडियामा कसरी छाए ?
२३ फेब्रुअरीमा ‘वारिस पञ्जाब दे’ का समर्थकहरूले पञ्जाबको अमृतसर नजिकै अजनालामा प्रहरी चौकीमा आक्रमण गरेका थिए । साथी लवप्रीत सिंह तुफानलाई बचाउन अमृतपाल र उनका समर्थक बन्दुक र तरवारसहित त्यहाँ पुगेका थिए । प्रहरीसँग उनीहरुको झडप पनि भयो । झडपमा छ प्रहरी घाइते भए । अमृतपाल र उनका समर्थकका अगाडि प्रहरी लाचार बन्दै लवप्रीत सिंहलाई रिहा गर्ने आश्वासन दियो । 

को हुन् अमृतपाल सिंह ?
पञ्जाबको राजनीतिमा केही समयदेखि चर्चामा रहेका अमृतपाल सिंह खालिस्तान समर्थक मानिन्छन् । २९ वर्षीय अमृतपाल अभिनेता–कार्यकर्ता दीप सिंह सिद्धुको निधनपछि ‘वारिस पञ्जाब दे’ नामक संस्थाको जिम्मेवारी लिन दुबईबाट फर्किएका थिए ।

गत वर्ष नै अमृतपाल, दीप सिंह सिद्धुले बनाएको संगठन ‘वारिस पञ्जाब दे’ को प्रमुखका रूपमा निर्वाचित भएका थिए । चर्चित पञ्जाबी अभिनेता दीप सिंह सिद्धु किसान आन्दोलनका बेला चर्चामा आएका थिए । पछि सडक दुर्घटनामा उनको मृत्यु भयो ।

मिडियालाई दिएको एक अन्तर्वार्तामा अमृतपालले आफ्नो जन्म अमृतसरको जादुखेडा गाउँमा भएको बताएका थिए । उनको विवाह १० फेब्रुअरी २०२३ मा बाबा बकालामा भएको थियो । गोपनियताको हवाला दिँदै उनले पत्नी र परिवारको बारेमा बताउन मानेनन् र मिडियाले पनि आफ्नो व्यक्तिगत जीवनमा हस्तक्षेप गर्न नहुने उनले राय व्यक्त गरेका थिए । 

स्कुलपछि रोजगारीको खोजीमा आफू अरब गएको अमृतपालले अन्तर्वार्तामा बताएका छन् । उक्त अन्तरर्वार्ता अनुसार अमृतपाल मान्छेसँग सजिलै घुलमिल हुँदैनन् र साथीभाइ पनि धेरै छैनन् । एक अन्तर्वार्तामा उनले दुबईमा बस्दा त्यहाँका चर्चित भवन पनि नदेखेको दाबी गरेका छन्, जसलाई हेर्न टाढा–टाढाबाट मानिसहरु जान्छन् । 

पढाइको बारेमा उनले भनेका थिए, ‘स्कुल पढ्दा मन नलागेको र त्यसपछि दुबई गए, त्यसपछि समय नपाएको ।’ तर, अर्को अन्तर्वार्तामा उनले आफूले पनि तीन वर्ष इन्जिनियरिङ कलेजमा बिताएको, तर कहिल्यै इन्जिनियरिङको डिग्री नपाएको बताएका छन् ।

खालिस्तानको उद्गम विन्दु 
खालिस्तान १८०० को उत्तरार्ध र १९०० को सुरुवातको ब्रिटिश सामराज्यको नीतिहरूमा निहित छ, जसले सिख र हिन्दूहरूलाई विभाजित गर्न खोजेको थियो । ब्रिटिशराजको विरुद्धमा विद्रोह गर्ने हिन्दू शासकहरूविरुद्ध प्रयोग गर्न सिखहरूलाई ठूलो संख्यामा ब्रिटिश सेनामा भर्ती गरियो । पछि, १९४७ मा भारत स्वतन्त्रतापछि, पञ्जाब राज्य र केन्द्रीय भारतीय सरकारबीच तनाव उत्पन्न भयो ।

जसले गर्दा धेरै सिखहरूले भारत सरकारको विरुद्धमा बोल्न थाले । उदाहरणका लागि, पञ्जाबलाई १९६६ मा पञ्जाब, हरियाणा र हिमाचल प्रदेश राज्यहरूमा भाषिक रेखाहरू (पञ्जाबलाई पञ्जाबी भाषी राज्यको रूपमा र हरियाणा र हिमाचल प्रदेशलाई हिन्दी भाषी राज्यहरूको रूपमा) मा विभाजित गरियो । जसले धेरै सिखहरूमा असन्तुष्टि पैदा गर्यो । 
अप्रिल १९७८ मा जर्नेल सिंह भिन्द्रनवालेको नेतृत्वमा कट्टरपन्थी सिख समूह र निरंकारी सम्प्रदायबीचको हिंसात्मक झडपलाई खालिस्तान आन्दोलनको सुरुवात मानिन्छ । १९८० मा भिन्द्रनवाले र उनका समर्थकहरूले हिन्दूलाई निशाना बनाउन थाले । सन् १९८०–९० को दशकमा खालिस्तान आन्दोलन चरम सीमामा पुग्यो र हिंसात्मक अभियानमा बम विष्फोट, हत्या, अपहरण, हत्या र नागरिकहरूको नरसंहार आम हुन थाल्यो । 

सन् १९८२ मा आफू जस्तै सोच राख्ने सिख साथीहरु र हतियार बोकेर उनी गोल्डेन टेम्पलमा बस्न गए । त्यसपछि, जुन सन् १९८४ मा तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले सेनालाई उक्त क्षेत्रमा आक्रमण गर्ने अधिकार दिएपछि भिन्द्रनवालेसहित तीन हजारभन्दा बढी मानिस मारिए । 

सिखविरुद्धको हमलापछि तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीका सिख अंगरक्षकको हत्या भयो । यसरी सुरु भएको खालिस्तान आन्दोलनमा लगभग १२ हजार नागरिकसहित सिख र हिन्दूहरू गरेर करिब २२ हजारको मृत्यु भइसकेको छ । 
सन् १९८५ मा क्यानडामा रहेका खालिस्तानी पृथकतावादीहरूले टोरन्टोबाट नयाँ दिल्ली जाने क्रममा एअर इन्डियाको विमानमा बम विष्फोट गर्दा १३ वर्षमुनिका ८२ बालबालिकासहित विमानमा सवार सबै ३२९ जनाको ज्यान गएपछि हिंसाले अन्तर्राष्ट्रिय रुपमा चर्चा कमाएको थियो । सो आक्रमण क्यानाडाको इतिहासमा सबैभन्दा घातक आतंकवादी हमला मानिन्छ । 
 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  १३:२०
समसामयिक
Weather Update