
काठमाडौं— सभामुख देवराज घिमिरेले प्रतिनिधि सभामा उठेका सवालका विषयमा जवाफ दिन सरकारलाई ‘रुलिङ’ गरेका छन्।
आज बसेको बैठकमा सभामुख घिमिरेले संसद्को शून्य, आकस्मिक र विशेष समयमा उठेका सवालमा जवाफ दिन सरकारलाई ‘रुलिङ’ गरेका हुन्।
आजको बैठकमा पनि सांसदहरुले आकस्मिक, शून्य र विशेष समयमा विभिन्न सवाल उठाएका थिए।
बैठकमा सभामुख घिमिरेले भने, ‘सांसदहरूले सदनमा शून्य, आकस्मिक र विशेष समयमा उठाउनुभएका विषयप्रति सरकारको ध्यानाकर्षण गराउनु चाहन्छु।’
आजको बैठकमा एमाले सांसद योगेशकुमार भट्टराईले आफ्नो जिल्ला ताप्लेजुङसहित अन्य जिल्लामा प्राकृतिक विपत्तिका विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए। भने कांग्रेस प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीको भारत भ्रमणबारे जवाफ माग गरेका थिए। साथै राष्ट्रपतिको विदेश भ्रमणका विषयमा सदनलाई जानकारी नै नभएको बताएका थिए।
यसअघि संसद्मा विभिन्न विषयमा आवाज उठ्ने गरे पनि सरकारले त्यसलाई चासो नदिएको भन्दै सांसदहरुले गुनासो गर्दै आइरहेका छन्।