News Griha :: न्यूजगृह
चितवन दुर्घटना अपडेटः घाइतेमध्ये ४ जना डिस्चार्ज, ३ को अवस्था अझै गम्भीर  

काठमाडौं— चितवनको फिस्लिङ बजारमा कार र यात्रुबाहक बस ठोक्किँदा भएको दुर्घटनामा घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ भने ४ जना डिस्चार्ज भएका छन्। 

जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी श्रीराम भण्डारीले न्यूजगृहलाई दिएको जानकारी अनुसार अहिले १३ जना घाइते, ५ जनाको अवस्था मध्यम रहेको छ। 

शुक्रबार बिहान नेपालगञ्जबाट काठमाडौं आइरहेको भे१ख ४०६० नम्बरको यात्रुबस त्रिशूली नदी किनारमा खसेको हो। 

काठमाडौंबाट मुग्लिनतर्फ गइरहेको बागमती प्रदेश ०२–०३९च ३७२० नम्बरको कारसँग ठोक्किँदा बस नदी किनारमा खसेको हो। 

त्यस्तै गम्भीर घाइतेमध्ये  कार चालक पोखरा महानगरपालिका ५ घर भएका ३५ वर्षका समीर ओझा रहेका छन्। उनको टाउकोमा गम्भीर चोट लागेको छ भने कारमा सवार टोखा नगरपालिका ६, काठमाडौंका २२ वर्षका शेखर मिश्र रहेका छन्।

उनीहरु दुवैजनाको भरतपुरको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको जनाइएको छ।

प्रत्यक्षदर्शीका अनुसार कारलाई जोगाउन खोज्दा बस त्रिशूली नदी किनारमा खसेको हो। 

डीएसपी भण्डारीका अनुसार बस चालक कोहलपुर नगरपालिका १२ घर भएका ३५ वर्षका विकास मल्ललाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको छ। 
 

प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  ११:०१
Weather Update